प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ।
बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ।
दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्।
छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार जगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
‘सञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ। जनमानसमा गुनासा पनि बढेका छन्। यसलाई सही ढंगले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो। र, यो एक श्रृङ्खला मात्र हो’, विज्ञ समूहको मंगलबारको बैठकमा अध्यक्ष बस्नेतले प्रष्ट पारे।
एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो। अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहेका काउन्सिलका बोर्ड सदस्यद्धय दिपक पाण्डे र ठाकुरप्रसाद बेलबासे तथा बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल र लालबाबु शेख सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो।