काभा महिला भलिबल : नेपाल सेमिफाइनलमै रोकियो

काभा महिला भलिबल : नेपाल सेमिफाइनलमै रोकियो

नेपाल, काभा महिला भलिबल

साविक विजेता नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमै रोकिएको छ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपाल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित बन्यो।

पहिलो सेट ३०–२८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो।

दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१५ ले जितेको थियो। चौथो सेटमा लयमा फर्किएको काजकिस्तानले २५–१८ को जित निकाल्दै खेललाई निर्णायक सेटमा लगेको थियो। अन्तिम तथा निर्णायक सेटमा काजकिस्तानले १५–७ को जित निकाल्दै फाइनलमा स्थान बनायो।

फाइनलमा काजकिस्तानले आइतबार भारतको सामना गर्नेछ। शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। भारतले उज्बेकिस्तानमाथि २५–१७, २५–२०, २५–१५ को सहज जित निकालेको हो।

अघिल्ला दुई संस्करणको विजेता नेपालको घरेलु मैदानमा उपाधि चुम्ने सपना साकार हुन सकेन। नेपालले तेस्रो स्थानका लागि अब आइतबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया