उपचुनावः बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र विजयी

उपचुनावः बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र विजयी

उपेन्द्र यादव

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी बनेका छन्।

गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए।

यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले ११९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाए।

बारा–२ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८७ जनाले मतदान गरेका थिए। गत वर्ष मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए।

बारा–२ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। निर्वाचित भएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गरे।

प्रतिक्रिया