तनहुँमा ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गरे

तनहुँमा ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गरे

स्वास्थ्य बीमा

तनहुँका ४२ हजार ७ सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका १ लाख ७ हजार ७ सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्।

सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो। उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ।

जिल्लामा पहिलो वर्ष ८ हजार ७ सय ५१, दोस्रो वर्ष ९ हजार ४३, तेस्रो वर्ष १७ हजार ३ सय ८९, चौथो वर्ष ७ हजार ५ सय ७२ र चालु आर्थिक वर्षमा २ हजार २ सय ११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

आव २०७४/०७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत ५ जनासम्मको सदस्य भएका परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ बुझाएर बीमामा आबद्ध हुन सकिन्छ। ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रावधान छ।

सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो। तर, स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ।

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ।

वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मंसीर १ गते, कार्तिक मंसीर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया