पोखराको फेवातालमा अचानक डुंगा पल्टिएपछि…

पोखराको फेवातालमा अचानक डुंगा पल्टिएपछि…

fewatal news pokhara 1

पोखरा । बिहीबार बिहानको करिब ८ः४५ बजेको थियो । फेवातालको शान्त पानीमा पर्यटकहरू डुंगा चढेर बिहानीको आनन्द लिइरहेका थिए । अचानक तालमा एउटा मोटरबोट तीव्र गतिमा आयो । मोटरबोटले उठाएको ठूलो छालका कारण पर्यटक चढेको डुंगा एकाएक पल्टियो। “बचाउ… बचाउ…!” तालको बीचबाट चिच्याएको आवाज आयो । वरिपरि रहेका मानिसहरू चनाखो भए । स्थिति तनावपूर्ण बन्यो। तर, ताल किनारमा तैनाथ उद्धार टोली एक सेकेन्ड पनि ढिला नगरी तुरुन्तै एक्सनमा उत्रियो ।

उनीहरूले तत्कालै तालमा खसेका र डुब्दै गरेका व्यक्तिहरूलाई पानीबाट बाहिर निकाले । त्यत्तिकैमा फेरि अर्को आवाज सुनियो, “एक जना अझै हराइरहेको छ, खोज्नुपर्‍यो ।” तत्कालै विशेष गोताखोर टोली फेवातालको गहिराइमा पस्यो । पानीमुनि खोजतलास गरी डुबेका ती व्यक्तिलाई पनि सकुशल बाहिर निकालियो । ताल किनारमा उपस्थित सबैले राहतको सास फेरे । वास्तवमा यो कुनै वास्तविक दुर्घटना नभएर पानीजन्य विपद्बाट कसरी जोगिने र बचाउने भन्नेबारे गरिएको एउटा जीवन्त संयुक्त अभ्यास (सिमुलेशन) थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन निकायहरूको सहकार्यमा फेवातालको किनारमा “उद्धार सम्बन्धी संयुक्त अभ्यास–२०८३ सञ्चालन गरिएको हो। विपद् आकस्मिक र अप्रत्याशित रुपमा आउँछ, पूर्वतयारी गरौँ र सुरक्षित बनौँ’ भन्ने मूल नाराका साथ यो अभ्यास गरिएको थियो ।

उक्त विशेष अभ्यासको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गनुभएको थियो । विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र समुदायस्तरको सचेतना अत्यन्त आवश्यक रहेको मुख्ममन्त्री पाण्डेको भनाइ छ । प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले विपद् उद्धार सामग्री खरिद, राहत वितरण, गोताखोर तालिम, कम्युनिटी सर्च एन्ड रेस्क्यू तालिम तथा विपद् व्यवस्थापन सिमुलेशन अभ्यास नियमित रूपमा सञ्चालन भइरहेको पाण्डेले बताउनुभयो । पानीजन्य विपद्बाट हुने क्षतिलाई कम गर्न अभ्यास गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । अभ्यासमा कृष्णदल गण फूलबारी ब्यारेक पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बल कालिका गणको संयुक्त सहकार्य रहेको थियो ।

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरू, उद्धारकर्मीहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति थियो । विपद्को समयमा कसरी छिटो र प्रभावकारी रूपमा उद्धार गर्न सकिन्छ भनेर उद्धार टोलीले व्यवहारिक रूपमै देखाएका थिए । वर्षायाम नजिकिँदै गर्दा तालै तालको सहरको पनि परिचय बनाएको पर्यटकीय राजधानी पोखारा क्षेत्रमा यस्ता अभ्यासले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बरालले बताउनुभयो ।

प्रतिक्रिया