बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

fohor

गुल्मी ।  गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५, सिसा प्रतिकेजी रु एक तथा टिन प्रतिकेजी रु पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७६५ घरबाट फोहोर सङ्कलन गर्छ ।

दुई वटा ट्याक्टर, दुईजना चालक र दुइजना सहचालक राखेको समितिले शनिबारबाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले रु २० हजार आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभयो । पानीको मुहान र बस्तीलाई फाइदा फोहोर बिक्री हुन थालेपछि पानीको मुहान सफा हुने भएको छ ।

फोहोर बिक्री नहुँदा ओख्रेनीमै जलाउने गरिएको थियो । जसले गर्दा ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्कलगायतका गाउँ सधैँ दुर्गन्धित हुने गर्दथ्यो । तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क, भनपानीलगायतका गाउँ जाँदा बाटोसम्मै दुर्गन्ध फैलन्थ्यो । अहिले त्यो दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताउनुभयो । त्यसैगरी फोहोर फाल्ने ठाउँ तलपट्टि खानेपानीको ट्याङ्की छ । उक्त पानी तम्घास बृहत् खानेपानी उपभोक्ताको ट्याङ्कीमा जम्मा भई तम्घास बजारका मानिसले पिउँछन् । फोहोरमैला व्यवस्थित नहुँदा खानेपानी समितिमाथि पनि थुप्रै पश्न उठेका थिए । फोहोर बिक्री हुन थालेपछि खानेपानीको मुहान शुद्ध हुने स्थानीय उपभोक्ता सरस्वती सर्तुङ्गेले बताउनुभयो ।

प्रतिक्रिया