३५ प्लस भेट्रान्स फुटबलको उपाधिका लागि एनके र न्युरोड आज  भिड्ने

३५ प्लस भेट्रान्स फुटबलको उपाधिका लागि एनके र न्युरोड आज  भिड्ने

Footbal Photo
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड  फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् ।  उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार आज (शनिबार) भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै एनके एफसी फाइनलमा प्रवेश गरेको हो । गोलरहित खेलको निर्धारित समय सकिएपछि  खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यूरोड एफसीले आयोजक गण्डकी स्पोर्टस् क्लबविरुद्ध १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै फाइनलमा एनके एफसीसँगको भेट पक्का गर्याे । न्यूरोडको जीतमा बिकी कुँवरले दोस्रो हाफमा गोल गरे ।
सोही गोल नै फाइनल यात्राको निर्णायक गोल बन्यो । प्रतियोगिताको फाइनल खेल हुनुपूर्व एन्फा कास्कीको महिला टिम र पृथ्वीनारायण क्याम्पसको महिला टिमबीच मैत्रीपूर्ण खेल हुने प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमलाई नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया