काठमाडाैं ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सात दिनभित्र निलम्बन फुकुवा नगरे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेस गर्ने चेतावनी दिएको छ।
फिफाले ‘राखेपको कार्यकारी समितिको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको’ उल्लेख गरेको छ। उसले भनेकाे छ, ‘हामीलाई यो पनि जानकारी भएको छ कि राखेपले एन्फालाई जारी चुनावी प्रक्रिया रोक्न, एन्फा विधानका केही प्रावधानहरू संशोधन गर्न र जिल्ला संघहरूलाई उनीहरूको विधान संशोधन गरी चुनावी साधारणसभाहरू गर्न निर्देशन दिएको छ।’

‘राखेपको निर्णयले निर्धारित चुनावी साधारणसभाको एक दिनअगाडि नै एन्फाको चुनावी प्रक्रियालाई अप्रत्याशित रूपमा रोकेको देखिन्छ। यसबाहेक, यसले एन्फालाई आफ्नो विधान संशोधन गर्न बाध्य तुल्याएको छ। यस्तो निर्णयले स्पष्ट रूपमा एन्फालाई आफ्नो मामिलाहरू स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोक्छ र यो तेस्रो पक्षको अनुचित हस्तक्षेपको स्पष्ट उदाहरण हो,’ पत्रमा भनिएको छ, ‘तसर्थ, यदि राखेपले उक्त निर्णय रद्द वा खारेज नगरेमा र यो पत्र प्राप्त भएको सात दिनभित्र एन्फालाई उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाइएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुनः सुरु गरी सम्पन्न गर्न सक्ने कुरा लिखित रूपमा सुनिश्चित नगरेमा, यो विषय एन्फालाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेस गरिनेछ।’
फिफाले नेपाललाई निलम्बन गरेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता र फिफा तथा एएफसीका विकास कोषहरूमा पहुँचलगायतका सम्पूर्ण सदस्यता अधिकारहरू गुम्नेछ। साथै, निलम्बन कायम रहुन्जेल अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्बन्ध राख्न प्रतिबन्ध लगाइनेछ।