काठमाडौं । प्रहरीले एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । उनलाई आइतबार राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो । शर्माका पारिवारिक सदस्यले पुर्जी बिना पक्राउ गरिएको र औषधिसमेत बोक्न नदिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको थियो । प्रदेश सांसद शर्माविरुद्ध २०८१ सालमै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको थियो । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहले तत्कालीन प्रधानमन्त्री ओलीमाथि नै आक्रोश पोखेका थिए ।शर्मामाथि त्यसबेला ६ वर्षदेखि एक बालिकालाई घरेलु कामदारमा राखी दुर्व्यवहार गर्दै आएको भन्दै जाहेरी परेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले २०८१ साल जेठ १४ जेठ गते उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो । प्रहरीमा काठमाडौं महानगरपालिकाले नै जाहेरी दिएको थियो ।
दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो । जाहेरी दर्ता भएपछि त्यसविरुद्ध प्रदेश सांसद शर्मा उच्च अदालत गएकी थिइन् । सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो । २०८१ साल साउन २३ साउन गते दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले अनुसन्धानमा चासो राखेन ।उद्धारपछि बालिकाका बुबा छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दिएको थियो ।
काठमाडौं महानगरपालिकाले परिवारबाहिर आफन्त तथा अन्य व्यक्तिको घरमा बसेका बालबालिकामाथि अध्ययन गर्दा बाल श्रमशोषणको घटना पत्ता लागेको थियो । अरूको घरमा बसेर सामुदायिक विद्यालयमा पढ्ने २५५ जना विद्यार्थीलाई फर्म भर्न लगाएर अध्ययन गर्दा जसमध्ये २९ जनाले आफूले गम्भीर प्रकृतिको हिंसा भोग्दै आएको बताएका थिए ।