संसदीय दलको नेता छान्ने गृहकार्यमा दलहरु

संसदीय दलको नेता छान्ने गृहकार्यमा दलहरु

shangiya_samsad

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका छन् । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने भएको छ । बिहीबार (भोलि) बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा वरिष्ठ नेता शाह सर्वसम्मत् संसदीय दलको नेता बन्ने छन् ।

संसद्मा निर्वाचितमध्येबाट उम्मेदवार भई सम्पूर्ण पार्टी सदस्यबाट निर्वाचित हुने व्यवस्था भए पनि केन्द्रीय समितिमा एकल नाम प्रस्तावित भएर सर्वसम्मत् हुँदा निर्वाचन विधिमा जानु नपर्ने भएकाले विधान संशोधन नगरी केन्द्रीय समितिबाट सर्वसम्मत् निर्णय गरिन लागेको हो । संसद्को दोस्रो र तेस्रो दलका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई भने संसदीय दलको नेता चयनबाट राजनीतिक परिवर्तन अनुकूलन गर्ने या परिवर्तनको सन्देशविपरीत उभिएर अझै अटेर देखिने भन्ने गम्भीर धर्मसंकट देखिएको छ ।

कांग्रेसमा सबैभन्दा पाको उमेरका अर्जुननरसिंह केसी छन् भने जेनजी उमेर समूहका निश्कल राईदेखि मुस्ताङबाट निर्वाचित २९ वर्षीय योगेश गौचनसमेतको चर्चा सुरु भएको छ । संसदीय दलको नेतामा गगन थापा समूहका केसीदेखि इलामबाट निर्वाचित राईको चर्चा छ भने देउवा समूहका भीष्मराज आङ्देम्बेदेखि नेता शेखर कोइराला पक्षका गौचनको चर्चा छ । जेनजी आन्दोलनका एजेन्डा र युवापुस्ताको चाहनासँगको द्वन्द्वका कारण राजनीतिक विरासतमा झट्का ब्यहोरेको एमालेले ‘संसदीय दलको नेता चयनमा कस्तो विवेक र व्यवहार देखाउँछ ?’ भन्ने प्रश्न उठेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका डा. पुष्प कँडेललाई प्रतिपक्षी बेञ्चमा विज्ञ नेतृत्वका रूपमा अगाडि सार्ने सम्भावना बढेको देखिएको छ भने पुस्तान्तरण मुद्दा चर्किएका कारण युवापुस्ताबाट इलाम क्षेत्र नम्बर–२ बाट दोस्रोपटक निर्वाचित सुहाङ नेम्वाङको चर्चा पनि बढेको छ । दलको नेतामा प्रत्यक्षबाट निर्वाचित नवयुवा र दोस्रो कार्यकाल निर्वाचित भएका कारण पनि नेम्वाङको सम्भावना बढेको एमालेका एक जना पदाधिकारी बताउँछन् ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल समानुपातिक प्रणालीमार्फत संसद्मा पुगे पनि ‘नेतृत्वनिकट भएर निरन्तर अवसर पाइरहेका’हरू भन्दै चौतर्फी आलोचना भएका कारण उनीहरूको नाम अगाडि सार्दा झन् बदनाम हुने भएकाले पाको नेतृत्वबाट भए कँडेल र युवाबाट भए नेम्वाङको सम्भावना बढी छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा भने संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुने करिबकरिब निश्चित छ ।

संकटका समय पनि पुस्तान्तरणको सन्देशसहित सल्यानबाट निर्वाचित रमेश मल्लदेखि बागमतीमा शून्य हुनबाट जोगाउने युवराज दुलालको समेत चर्चा भए पनि दाहाल रहुञ्जेल निर्विवादजस्तै भएकाले उनी नै निर्विवादजस्तै रहेको बताइन्छ । संसद्मा १० सिटभन्दा कम संख्या भएका श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसदीय दलको नेतृत्व टुंग्याएका छन् ।

श्रम संस्कृति पार्टीले हर्कराज राई र राप्रपाले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने भएका छन् । संसदीय राजनीतिमा जनआवाज बोल्ने थलोका रूपमा चिनिने संसद्मा जनभावना तथा युवापुस्ताको आवाज उठाउन रास्वपा, श्रम संस्कृति र राप्रपाले युवापुस्तामा संसदीय दल हस्तान्तरण गरे पनि कांग्रेस, एमाले र नेकपाले भने ‘पुस्तान्तरण एजेन्डा स्वीकार्छन् कि अझै अटेर गर्छन् ।

प्रतिक्रिया

भर्खरै