दमौली (तनहुँ), १० चैतः सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो ।
मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन ।”
रानाभाटका अनुुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेबाट १५, शिकारीबाट सात, वनभोज क्याम्पफाइरिङ आउनेहरूबाट सात, बच्चाहरू खेल्दा छ, अवैध काठ कटान गर्नेहरूबाट पाँच, अतिक्रमणकारीबाट पाँच, खोरिया फँडानीबाट पाँच, गोल पोल्नेबाट चार प्रतिशत र बाँकी जडिबुटी सङ्कलकबाट डढेलो लाग्ने गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ७१ वटा सामुदायिक वनका एक हजार ३२२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।

यस्तै आव २०८१/८२ मा ८४ सामुदायिक वनका छ सय ६२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको रानाभाटले जानकारी दिनुभयो । दक्ष जनशक्तिको कमी, आधुनिक उपकरणको अभाव, बजेट कमलगायत कारणले डढेलो नियन्त्रणमा समस्या हुँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वनमा डढेलो लगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि सकेका छैनौँ, लुकिछिपी डढेलो लगाउँदा पहिचान खुलाउनै गाह्रो भइरहेको अवस्था छ ।” उहाँका अनुसार जिल्लाभर छ सय २५ सामुदायिक वन छन् ।