पोखरामा १० दिनपछि पुनः फोहोर संकलन सुरु, ३० प्रतिशत उठाइयो

पोखरामा १० दिनपछि पुनः फोहोर संकलन सुरु, ३० प्रतिशत उठाइयो

fohot-pp

पोखरा ।  पोखरा महानगरपालिकामा अवरुद्ध फोहोर संकलन कार्य १० दिनपछि आइतबारदेखि पुनः सुरु गरिएको छ। निर्वाचनका दिन फागुन २१ गतेदेखि रोकिएको संकलन कार्य पुनः सञ्चालनमा ल्याइएको हो। महानगरका मेयर धनराज आचार्यका अनुसार सोमबार साँझसम्म करिब ३० प्रतिशत फोहोर उठाइसकिएको छ। पोखरामा दैनिक झण्डै २०० टन फोहोर उत्पादन हुने भएकाले १० दिनमा करिब २ हजार टन फोहोर थुप्रिएको अनुमान गरिएको छ।

थुप्रिएको फोहोरमध्ये बाँकी सबै बुधबारसम्म उठाइसक्ने लक्ष्य राखिएको महानगरले जनाएको छ। त्यसपछि नियमित रूपमा टोल–टोलमा फोहोर संकलन गाडी परिचालन गरिने मेयर आचार्यले बताए। फोहोर व्यवस्थापनमा देखिएको विवाद र अवरोधका कारण समस्या उत्पन्न भए पनि अब अल्पकालीन र दीर्घकालीन समाधानतर्फ अघि बढ्ने सहमति भएको उनको भनाइ छ। हाल अस्थायी रूपमा वातावरणमैत्री ढंगले फोहोर व्यवस्थापन गरिएको र स्थायी समाधानका लागि प्रशोधन केन्द्र निर्माण प्रक्रिया तीव्र बनाइने जनाइएको छ।

केही स्थानमा स्थानीय अवरोध भए पनि छलफलपछि समस्या समाधान गर्दै संकलन कार्य अघि बढाइएको महानगरले जनाएको छ। साथै, सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न महानगरले नागरिकलाई आग्रह गरेको छ। गर्मी बढ्दै जाँदा र वर्षा सुरु हुनुअघि फोहोर व्यवस्थापन नभए दुर्गन्ध र स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै समयमै व्यवस्थापनमा सहयोग गर्न महानगरले अपील गरेको छ।

प्रतिक्रिया

भर्खरै