पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षातर्फ उल्लेखनीय गतिविधि गरेको जनाएको छ। सार्वजनिक गरिएको प्रगति विवरणअनुसार उक्त महिनामा १८३ वटा मुद्दा दर्ता हुँदा १३८ जना प्रतिवादी पक्राउ परेका छन्। दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर, महिला–बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी, आर्थिक तथा अन्य अपराध समावेश छन्। यस अवधिमा ६४ जघन्य, १० महिला/बालबालिका सम्बन्धी, ३३ आर्थिक र ७६ अन्य अपराध दर्ता भएका छन्।

फरार रहेका २६ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १२ वर्ष ११ महिना २८ दिन कैद कार्यान्वयन गरिएको छ भने रु. १ करोड २५ लाख ११ हजार ५५० बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ। फागुनमा ६७ वटा सामाजिक हिंसाका उजुरी परेका छन्। सबैभन्दा बढी घटना पोखरा महानगरपालिका मा देखिएको छ भने रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा न्यून रहेका छन्।
घरेलु हिंसाका ११ वटा घटनामध्ये ७ मिलापत्र, २ अदालतमा, र २ अनुसन्धानमै छन्।
६७ जना हराएको निवेदन परेकोमा ४६ जना फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । अघिल्लो महिनामा हराएका थप २३ जना पनि फेला परेका छन्। प्रहरीले ब्रुफिन, डाइजापाम, फेनारगन, ब्राउनसुगर, ट्यापेण्डाडोल र गाँजासहित १४ जना (३ महिला, ११ पुरुष) पक्राउ गरेको छ। ठूलो परिमाणमा लागूऔषधसहितका छुट्टाछुट्टै घटनामा समेत पक्राउ गरिएको छ। फागुनमा १२ जनाले आत्महत्या गरेका छन्, जसमा अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन्। मृतकमध्ये १० पुरुष र २ महिला रहेका छन्। फागुनमा १७ सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु र २० जना घाइते भएका छन्। सवारी चेकिङका क्रममा ४,००३ कारबाही गरी रु. ३४ लाख ५० हजार ५०० राजश्व संकलन गरिएको छ।
फागुनमा ९ वटा आगलागी र १ नदी कटान घटनामा प्रहरी परिचालन गरिएको छ। आगलागीबाट करिब रु. २४ लाख ८५ हजार क्षति भएको छ।
प्राकृतिक स्रोत दोहन नियन्त्रणमा ३ टिप्पर नियन्त्रणमा लिई रु. ९५ हजार राजश्व संकलन गरिएको छ। १७ थान अवैध हतियार बरामद गरिएको छ भने निर्वाचनका बेला १० थान वैध हतियार संकलन गरिएको छ।