धार्मिक पर्यटनको केन्द्र बन्दै पाेखरा ३३ को ‘कण्ठदेवी मन्दिर’

धार्मिक पर्यटनको केन्द्र बन्दै पाेखरा ३३ को ‘कण्ठदेवी मन्दिर’

mandir

पोखरा। पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ ।

मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने अनुमान गरिएको अनुसन्धाता डा अशोक थापाले बताउनुुभयो । थापाका अनुसार कण्ठदेवी मन्दिरको इतिहास राणा प्रधानमन्त्री जङ्गबहादुरसँग पनि जोडिएको छ । विसं १९१३ साउन २४ गते तत्कालीन श्री ५ सुरेन्द्र वीरविक्रम शाहले दरबारबाट एक ऐतिहासिक घोषणामार्फत जङ्गबहादुरलाई कास्की र लमजुङ राज्यका श्री ३ महाराज पद दिएका थिए । उक्त घोषणसँगै जंगबहादुर श्री ३ जङ्गबहादुर कुँवर राणाजीका रुपमा चिनिएका थिए । उहाँको बुबाले सुनाएको कथा उद्धृत गर्दै थापाले भन्नुभयो, “जङ्गबहादुर तत्कालीन समयमा स्याङ्जा–नुवाकोट राज्यतर्फको यात्रामा यस क्षेत्रमा पर्ने राजाको चौतारो, लामगादी, भञ्ज्याङ हुँदै भोटेपोखरी उक्लन्थे ।

त्यही यात्रामा उनी भोटेपोखरी मन्दिर नजिकको ढुङ्गाको अग्लो छेउमा आफ्नो घोडालाई बाँधेर निगालोको घाँस खुवाएर आराम गराउँथे र कण्ठदेवीको दर्शन गरेर उनी भर्तीपोखरा, कृस्ती हुँदै मट्टिखानको बाटो भएर स्याङ्जा नुवाकोट हिँड्थे ।” यस मन्दिरको नाम कण्ठदेवी राखिएका सम्बन्धमा विभिन्न तथ्यहरू प्राप्त भएको उहाँले बताउनुभयो । अनुसन्धानकै क्रममा यस सम्बन्धमा इतिहासविद् डा.जगमान गुरुङसँग आँफूले केही महत्वपूर्ण तथ्यहरू जानकारी लिएको उहाँले बताउनुभयो । शिव पुराणमा नीलकण्ठ महादेवले समुद्र मन्थनको विष पिएर ब्रह्माण्डको रक्षा गरे, उनी नीलो गलाको प्रतीक बनेको र त्यही कण्ठको स्मरण स्वरूप, देवी पार्वतीको यो रूपलाई ‘कण्ठदेवी’ भनिएको हुनसक्ने इतिहासविद् डा जगमान गुरुङको तर्क रहेको उहाँले बताउनुभयो ।

अर्को तर्कमा ‘कण्ठ’ भनेको स्वरको प्रतीक पनि हो । स्वरकी देवी सरस्वती हुन् । भोटेपोखरीमा ऐतिहासिक विद्यालयको स्थापना हुनु अगाडि नै यो मन्दिर थियो । भोटेपोखरीको नजिकै विद्यालय रहेको र विद्याकी देवीसँग यो मन्दिर जोडिएको हुनाले दुर्गा र सरस्वती–शक्तिको मूर्त रूप र ज्ञानको प्रकाश एउटै थलोमा मिसिएर यसको नाम कण्ठदेवी भएको हुनसक्ने गुरुङले जानकारी गराउनुभएको थापाको भनाइ छ । इतिहासको साक्षीका रुपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् ।

कण्ठदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष दीपविक्रम चन्दका अनुसार पछिल्ला समयमा यसको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्दिरको विशेष गरी लाखु छहरा ठूलो बन खहरे खरबारी उपभोक्ता समितिमार्फत संरक्षणका काम हुँदै आएका छन् । मन्दिर परिसरमा रहेका काली नाग, सेती नाग, भयँर, अयँर, देउराली देवी, भैरव, श्रीकृष्ण आदिका शिला र थान रहनुले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको स्थानीयवासी बताउँछन् । विभिन्न महत्वपूर्ण तिथिमिति एवं चाडपर्वमा स्थानीयले कण्ठदेवीको पूजाआजा गर्दै आएका छन् ।

प्रतिक्रिया