स्वदेशी उत्पादन बिजुली बढी प्रयोग गर्न कास्की प्रशासनको आग्रह

स्वदेशी उत्पादन बिजुली बढी प्रयोग गर्न कास्की प्रशासनको आग्रह

dfo

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास चुल्होको विकल्प अपनाउन कास्केली जनतालाई आग्रह गरेको छ । पोखरालगायतका ठाउँहरुमा ग्यास तथा पेट्रोलियम  पदार्थको अभाव देखिन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज  बसेको आपूर्ती समन्वय बैठकले कास्केली जनतालाई एलपी ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपश्चात जारी कास्की प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,‘विद्युतीय चुल्हो प्रयोग गरि एलपी ग्यासमाथिको निर्भरता कम गर्न आम उपभोक्तामा अनुरोध गरिन्छ ।’

त्यस्तै, प्रशासनले सर्वसाधारणलाई अनावश्यक रूपमा ग्यास सञ्चितीकरण नगर्न आग्रहसमेत गरेको छ । साथै प्रमाणपत्र प्राप्त विक्रेताले मात्र बिक्री वितरण गर्न र उद्योगहरूले प्रमाणित डिलरहरूको विवरण प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् ।

बैठकले एलपी ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने निर्णय गर्दै त्यसका लागि एलपी ग्यास तथा पेट्रोलियम पदार्थको मौज्दात र वितरण अवस्थाको विवरण संकलन गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ । सो का लागि ग्यास उद्योग र विक्रेताले प्राप्त तथा वितरण गरेको परिमाणको दैनिक अभिलेख राखी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा विवरण बुझाउन भनिएको छ ।

बैठकले ग्यास उद्योग सञ्चालकहरूले उद्योगबाट वितरण भएको ग्यास उचित रूपमा बिक्री भएको–नभएको, अनावश्यक सञ्चिति वा मूल्यवृद्धि भए–नभएको विषयमा अनुगमन गर्ने निर्णय गरेको छ । त्यसबाहेक उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र उपभोक्ता मञ्चलेसमेत सोको सूक्ष्म अनुगमन गरी कास्की प्रशासन र प्रहरीलाई जानकारी गराउन भनिएको छ । साथै बैठकले आयल निगमका निर्णयहरू सबै ग्यास उद्योगले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, पेट्रोल तथा हवाई डिपोहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण व्यवस्थित गर्ने र त्यसको निरन्तर अनुगमन नेपाल आयल निगम पोखरा डिपोले गर्ने व्यवस्था मिलाइएको सिडिओ शर्माले बताईन् ।

नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष एवं गृह लक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले स्वदेशी उत्पादनलाई जोड दिएर बिजुली खपतलाई बढाउन आग्रह गरे । ‘म त ग्यास उद्योगको सञ्चालक भएपनि बिजुली खपतमा ध्यान दिन सबैलाइ आग्रह गर्दछु ’, उनले भने,‘ मलाई ग्यास बेच्दा नै मुनाफा बढी हुन्छ तर नेपाली भएको नाताले स्वेदशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्दछु ।’

बैठकले खुला रूपमा बोतल, जर्किनलगायतमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्य पूर्ण रूपमा निषेध गर्ने निर्णय पनि गरेको उनले जाननकारी दिईन् । उनले भनिन्,‘यस्तो कार्य गरे÷गराएको पाइए नियमानुसार कारवाही हुन्छ ।’ बैठकमा आयल निगम गगनगौँडा डिपो, ग्यास उद्योग तथा विक्रेता, उद्योगी–व्यवसायी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उपभोक्ता मञ्च, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया