पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सारेको भेटिएपछि एक सप्लायर्सलाई कारबाही गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ जरेवरस्थित भण्डारी ट्रेडर्सलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त ट्रेडर्सले उपभोक्ता हित विपरीतका कार्य गरेको फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले शनिबार पोखराका विभिन्न ५ वटा ग्यास डिलरमा अनुगमन गरेको थियो । सो क्रममा भण्डारी ट्रेडर्सले १४.२ केजीका ४८ थान ग्यास सिलिन्डर अनुचित रूपमा लुकाई छिपाई राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा उपकरणसहित फेला पारिएको प्रशासनले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । प्रशासनले भनेको छ, ‘अनुगमनका क्रममा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान सिलिन्डर पहिले आउने उपभोक्तालाई बिना भेदभाव बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।’
