पोखरा । तत्कालीन पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख कृष्णबहादुर थापाको शनिबार अन्त्येष्टि गरिएको छ । गत बिहीबार मस्तिस्क घातका कारण उहाँको निधन भएको थियो । थापाको सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाको शनिबार दिउँसो उहाँको निवास बाटुलेचौरबाट शवयात्रासहित लामाचौरहुँदै गोस्तेघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो । पार्टीका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीको झण्डा ओढाएर उहाँलाई अन्तिम बिदाइ गर्नुभएको थियो । थापालाई उहाँका छोरा प्रतीक थापाले दागवत्ती दिनुभएको थियो । अन्त्येष्टि अघि थापाको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि नेकपा एमालेको पार्टी कार्यालय, पोखरा महानगरपालिका कार्यालय र थापा निवासमा राखिएको थियो । एमालेका सचिवद्वय खगराज अधिकारी, पद्मा अर्याल, पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा लगायत एमालेका नेता, कार्यकता, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायत नेता, कार्यकर्ता आफन्त, शुभेच्छुकहरुले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
पोखरा महानगरपालिकाको कार्यालयमा प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले राष्ट्रिय झण्डा र पोखरा महानगरको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । नेकपा एमाले क्षेत्रीय कमिटी १ को निर्वाचन समीक्षा बैठक सकिएको केहीबेरमा उहाँ कुर्चीमै अचेत हुनुभएको थियो भने उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । २०५४ सालमा पोखराका मेयर हुनुभएका थापा २०७४ मा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की २ बाट थापालाई पार्टीले टिकट दिएकोमा विरोधपछि रश्मी आचार्यलाई उम्मेदवार बनाएको थियो ।
२०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा जमिन्नुभएका थापा २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनुभएको हो । २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा लिएर सोमनाथ प्यासीको प्रचारमा खटिनुभएका थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल बस्नुभएको थियो । थापा २०६५ मा एमाले कास्कीको सचिव, २०७० मा एमाले कास्की अध्यक्षसमेत हुनुभएको थियो । गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापा कास्की इन्चार्ज भएर पार्टी काममा सक्रिय रहनुभएको थियो । उहाँ हक्की र निडर स्वभावको हुनुहुन्थ्यो ।