पोखराका पूर्व नगरप्रमुख थापाको अन्त्येष्टि आज, भोलि शोक बिदा

पोखराका पूर्व नगरप्रमुख थापाको अन्त्येष्टि आज, भोलि शोक बिदा

krishna thapa bw

पोखरा । पूर्व नगरप्रमुख कृष्णबहादुर थापाको निधनमा पोखरा महानगरपालिकाले १ चैत आइतबार शोक बिदा दिने निर्णय गरेको छ । २८ फागुन बिहीबार भएको उनको निधनप्रति दुःख व्यक्त गर्दै महानगरले आफ्नो मातहतका कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो । २०५४ देखि २०५९ सालसम्म पोखरा उपमहानगरपालिकाको नगर प्रमुख रहेका थापाको निधनले महानगरलाई स्तब्ध बनाएको सूचनामा उल्लेख छ ।

शोक बिदाका दिन महानगरपालिकाको कार्यालय र अन्तर्गतका सबै कार्यालयहरू बन्द रहनेछन् । तर स्वास्थ्य संस्था र फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने बन्द नहुने महानगरले जनाएको छ । यसैगरी विद्यालयमा पूर्वनिर्धारित परीक्षा पनि यथावत सञ्चालन हुनेछन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभाका पूर्व सदस्यसमेत रहेका थापाको निधन पार्टी कामकै सिलसिलामा भएको हो । बिहीबार उनलाई मस्तिस्क घात भएको थियाे ।  थापाको अन्त्येष्टि आज हुने भएको छ ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले थापाको अन्त्येष्टिअघि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि शव राखिने बताए । पार्टीले उनको सम्मानमा ३० फागुनदेखि २ चैतसम्म ३ दिन पार्टीका जिल्ला र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । ३० फागुन बिहान ७ः३० बजे मनिपाल शिक्षण अस्पतालबाट थापाको पार्थिव शरीर ल्याएर शान्ति दर्शन मार्ग स्थित जिल्ला पार्टी कार्यालयमा बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यसपछि १०ः१५ देखि १०ः४५ सम्म पोखरा ९ स्थित दमकल प्रांगणमा रहेको पोखरा महानगरपालिकाको कार्यालयमा उनलाई सम्मान र श्रद्धाञ्जली अर्पण गरिने तय भएको छ । बिहान ११ः०० बजे थापाको निवास पोखरा १६ बाटुलेचौरमा पार्थिव शरीर पु¥याएर धार्मिक विधिअनुसार शव यात्रा सुरु गरिनेछ । शव यात्रा पोखरा १६ कै याम्दी पुल नजिक रहेको सेती नदीको तुलसी घाटमा पुगेर अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टिमा परिणत हुनेछ । एमाले जिल्ला पार्टी कार्यालयको परिसरमा ३० फागुनदेखि शोकपुस्तिका राखिने भएको छ । पार्टीले थापाको निधनका कारण यसअघि तय भएका सबै बैठक, भेला र समीक्षा जस्ता औपचारिक कार्यक्रमसमेत ३ चैतसम्मका लागि स्थगित गरेको छ । थापा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज थिए ।

प्रतिक्रिया