दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई

दुई सिटले रोक्यो रास्वपाको दुईतिहाई

rastriya-swatantra-party-raswapa

अमृतनाथ तिमल्सिना काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचन परिणामले राजनीतिक स्थिरताको सन्देश दिएको छ । सुशासन र विकासको चाहनाका लागि भएको जेनजी विद्रोह अनुमोदन गर्दै मतदाताले ब्याटलेमार्फत् एउटै पार्टीलाई ढुक्कको बहुमत पुग्ने अवस्था बनाइदिएका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटको अन्तिम मतगणना आइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थिर सरकार सञ्चालनका लागि सुरक्षित एकल बहुमत र समन्वय गर्दा आवश्यक परेको खण्डमा सहज दुईतिहाइको म्यान्डेट पाएको छ ।

प्रतिनिधिसभा निर्वाचनले वैकल्पिक राजनीतिको एजेन्डाबाट उदाएका दललाई जनताले बलियो विश्वासको सन्देश मतदानमार्फत दिएका छन् । मतदाताले पुरानो विरासतबाट अघि बढेका राजनीतिक दललाई पनि पूर्णतः अस्वीकार नगरी ‘सबक’ सिकाएको देखिएको छ । जेनजी आन्दोलनपछि भएको निर्वाचनले रास्वपा र हर्क साम्पाङ नेतृत्वको दललाई अनुमोदन गरेको स्पष्ट देखिन्छ ।

पाँच महिनाअघि स्थापना भएको साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउनु जेनजी आन्दोलनको अनुमोदनसँगै नयाँ दललाई अवसर दिइएको रूपमा बुझ्नुपर्ने राजनीतिक विश्लेषक बताउँछन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतपरिणामअनुसार ६ दल राष्ट्रिय दल बनेका छन् । कम्तीमा ३ प्रतिशत समानुपातिक मत वा १ सिट प्रत्यक्ष जित्ने दलमा ६ वटा दल भएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता रास्वपाले निर्वाचनमा सहभागी भएको दोस्रोपटकमै झन्डै दुईतिहाइ जनमत पाएको छ भने पाँच महिनाअगाडि स्थापना भएको श्रम संस्कृति पार्टीले राष्ट्रिय दल बन्ने सफलता पाएको हो ।

कसको मत कति ?
निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये १ करोड ८ लाख ३० हजार ८१५ मत सदर हुँदा ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै समानुपातिक सिट हात पारेका हुन् । आयोगले मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरेसँगै २१ फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले सुदृढ बहुमतसहित निकट दुईतिहाइको अनुमोदन पाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार रास्वपाले कूल सदर मतको ४७.८ प्रतिशत मत पाएको छ । रास्वपाले ५१ लाख ६७ हजार ४२९ मत पाएको छ । समानुपातिकमा यो निकटतम दलभन्दा झन्डै तेब्बर मत हो । समानुपातिकतर्फ दोस्रोमा नेपाली कांग्रेस भएको छ । नेपाली कांग्रेसले १६.२ प्रतिशत अर्थात् १७ लाख ५५ हजार ४७९ मत ल्याएको छ ।

त्यस्तै, तेस्रो दलको हैसियत नेकपा एमालेले बनाएको छ । १४ लाख ५२ हजार ६३७ अर्थात् १३.४ प्रतिशत ल्याएको नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पछ्याउँदै चौथो भएको छ । यसैगरी, नेकपाले ८ लाख ९ हजार ५३० अर्थात् ७.५ प्रतिशत मत ल्याएको छ । नयाँ राजनीतिक दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७०८ अर्थात् ३.५ प्रतिशत ल्याएर पाँचौँ दलको हैसियत बनाएको छ ।

६ दलले मान्यता पाएको प्रत्यक्षमा सबैभन्दा कम सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमै पनि ३ लाख ३० हजार २२७ अर्थात् ३ प्रतिशत मत पाएका छन् । ‘थ्रेसहोल्ड’ गणनामा आएका ६ वटा पार्टीको जम्मा मतलाई आधार मानेर ११० सिट छुट्ट्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै ५२ प्रतिशत सिट अर्थात् ५७ सिट पाउने भएको छ ।

यस्तै, कांग्रेसले १७.७५ प्रतिशत अर्थात् २० सिट, नेकपा एमालेले १४.७ प्रतिशत अर्थात् १६ सिट पाउँछ । संसद्मा अर्को कम्युनिस्ट दलको रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ प्रतिशत अर्थात् ९ सिट, श्रम संस्कृति पार्टीले ३.८ प्रतिशत अर्थात् ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३ प्रतिशत अर्थात् ४ सिट पाउने भएको हो ।

कांग्रेस–कम्युनिस्ट खुम्चिए
संसद््को सबैभन्दा ठुलो र झन्डै दुई तिहाइ मत ल्याएको रास्वपाले पहिलोपटक लडेको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलना गर्दा परम्परागत राजनीतिक दल मानिएका नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू नराम्रोसँग खुम्चिएका छन् भने रास्वपा हौसिएको छ । अघिल्लो निर्वाचनको तुलनामा नेकपा एमालेले ठुलो क्षति व्यहोरेको छ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५२ प्रतिशत मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो ।

१३ वटा समानुपातिक जितेकोमा यसपटक ३५४ प्रतिशत अर्थात् ४० लाख १७ हजार ८७३ मत थपेर सिट संख्या ५७ पु¥याएको छ । यस पटक रास्वपाले ४४ सिट बढाएको हो । प्रतिनिधिसभा २०७९ सालमा एमाले समानुपातिक मततर्फ सबैभन्दा ठुलो दल भएको थियो । समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी ३४ सिट जितेको एमाले २१ फागुनको निर्वाचनमा तेस्रो भएको छ ।

एमालेले झन्डै ५० प्रतिशत मत गुमाएको छ । एमालेले १३ लाख ९३ हजार ६८५ मत गुमाएको छ । एमालेले समानुपातिक सिटमा भने ५२ प्रतिशतको क्षति व्यहोरेको छ । गत संसद्मा समानुपातिक बाट ३५ जना सहभागी गराएको एमालेले यस पटक समानुपातिकमा १६ सिट पाउने देखिएको छ । गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरी ३२ सिट जितेको कांग्रेसले ३५.५६ प्रतिशत अर्थात् ९ लाख ६० हजार ८३० मत गुमाएको छ भने ३७.५ प्रतिशत सिट संख्या पनि गुमाएको छ । यसपटक कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले गत निर्वाचनमा ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरी १४ सिट जितेकोमा ३३.४६ प्रतिशत अर्थात् ३ लाख ६६ हजार ६१३ मत गुमाएको छ भने ३५.७ प्रतिशत सिट गुमाउँदै ९ सिटमा कायम भएको छ । परम्परागत राजनीतिको विरासत बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरी ७ सिट जितेकोमा यस पटक गतको तुलनामा ४४ प्रतिशत मत कम पाएको छ ।

राप्रपाले मततर्फ २ लाख ५८ हजार ७६७ र ४२.८ प्रतिशत सिट गुमाएको छ । राप्रपाले ४ सिट पाउनेछ । अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१४ समानुपातिक मत प्राप्त गरी ५ सिट जितेको जनता समाजवादी पार्टी, ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी ५ सिट प्राप्त गरेको जनमत पार्टीले यसपटक ‘थ्रेसहोल्ड’ पार गर्न सकेनन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

भर्खरै