पोखरामा बिजुलीकाे तार भूमिगत आयोजना सुस्त, ६७ प्रतिशत मात्रै प्रगति

पोखरामा बिजुलीकाे तार भूमिगत आयोजना सुस्त, ६७ प्रतिशत मात्रै प्रगति

bhumigat-taar

पोखरा ।  पोखरामा बिजुलीको तार भूमिगत गर्ने आयोजना तीनपटक ठेक्का म्याद थप्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ६७ प्रतिशत पुगेको छ। गत सेप्टेम्बरमा ठेक्काको म्याद पुनः थपेर आगामी जुन ३० सम्म पुर्‍याइएको भए पनि उक्त अवधिभित्र काम सकिने सम्भावना न्यून रहेको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले बताए। उनका अनुसार वर्षायामका कारण निर्माण प्रभावित हुने भएकाले आयोजना आगामी हिउँदसम्म लम्बिने अवस्था देखिएको छ।

यो आयोजना २०७८ माघमा दुई वर्षे ठेक्कामा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले करिब २ अर्ब ५० करोड ३३ लाख रुपैयाँमा लिएको थियो। पोखरामा मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ। काम भने २०८० वैशाखदेखि सुरु भएको हो र त्यसयता तीनपटक म्याद थप भइसकेको छ। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकसम्म तार बिछ्याएर विद्युत् वितरण सुरु भइसकेको छ भने सिर्जनाचोक, सभागृह, जिरो किलोमिटर र लेकसाइड क्षेत्रतर्फ काम जारी छ। न्युरोड र चिप्लेढुंगा क्षेत्रमा भने काम सुरु हुन बाँकी छ।

पोखराका मुख्य सडक तथा पर्यटकीय क्षेत्रका अव्यवस्थित विद्युत्, टेलिफोन, केबल र इन्टरनेटका तारलाई जमिनमुनि व्यवस्थापन गर्न यो आयोजना सञ्चालन गरिएको हो। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार भूमिगत गरिँदा सहरी सौन्दर्य बढ्ने र विद्युत् आपूर्ति पनि बढी भरपर्दो हुने विश्वास प्राधिकरणले गरेको छ।

प्रतिक्रिया