महावीर पुनलाई सडकमा पुस्तक बिक्री नगर्न पोखराका मयेरको सुझाव

महावीर पुनलाई सडकमा पुस्तक बिक्री नगर्न पोखराका मयेरको सुझाव

maha bir piun final

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनलाई पोखराका सडकमा पुस्तक नबेच्न सुझाव दिएका छन् । वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अभियन्तासमेत रहनुभएका पुनले अनुसन्धान तथा नवप्रवर्तन अभियानलाई सहयोग जुटाउन पोखराको सडकमा पुस्तक बिक्री गर्दै हिँडिरहेको विषयलाई लिएर पोखरा महानगर प्रमुख आचार्यले ध्यानाकर्षण गराएका हुन् । प्रमुख आचार्यले ध्यानाकर्षण गराउँदै पुस्तक बिक्रीलाई व्यवस्थित ढंगले गर्न सुझाव दिए ।

मेयर आचार्यले फेसबुक स्टाटस्मार्फत् सार्वजनिक रूपमा जारी गरेको सन्देशमा पुनलाई निर्वाचन जितेकोमा हार्दिक बधाई दिँदै देश र समाजप्रति उहाँको समर्पण, सादगीपन तथा अनुसन्धान प्रवद्र्धनका लागि गरिरहेको अभियानप्रति उच्च सम्मान रहेको उल्लेख गरे । देशभर घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाउने कार्य सराहनीय भएपनि आवश्यक दर्ता वा अनुमति बिना सडकमा उभिएर बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने आचार्यको भनाइ छ । पछिल्ला दिनमा सडक किनारमा पुस्तक बिक्री गर्दा यातायातमा असहजता देखिएको तथा अनावश्यक सवाल–जवाफको अवस्था सिर्जना भएको उल्लेख गर्दै मेयर आचार्यले यस्तो अवस्था पुन जस्तो सम्मानित व्यक्तित्वलाई नसुहाउने बताए ।

उनले अहिले पुन एक व्यक्ति मात्र नभई देशले सम्मान गरेको सार्वजनिक नेतृत्वको स्थानमा रहेको व्यक्तित्व भएको उल्लेख उल्लेख गरे । देशभर करिब १८ हजार पुस्तक व्यवसायी राज्यका विभिन्न निकायमा दर्ता भई पुस्तक बिक्री–वितरणमा संलग्न रहेको जानकारी दिँदै आचार्यले पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराई व्यवस्थित रूपमा पुस्तक बिक्री–वितरणका लागि सहयोग गर्न सकिने आचार्यको भनाइ छ ।

व्यवस्थित रुपमा पुस्तक बेच्दा पुनको अभियानलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास उनको छ । फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न आग्रह गर्ने अवस्थामाझ त्यही नियम पुनमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुन सक्नेतर्फ आचार्यले सचेत गराए । मेयर आचार्यले पुनको अभियानप्रति सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सधैँ तयार रहेको बताए । पोखराका सडकमा पुन पुस्तक विक्री गर्दै हिँडेपछि सांसद भएको व्यक्तिले यस्तो गर्न नहुने भन्दै विवादसमेत भएको थियो । पुनले फुर्सदमा किताब बेचेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया