तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा पर्ने पूर्वी खण्डको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइ हस्तान्तरण समेत भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक खण्डको काम सकिएपछि आयोजनाले नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले आफ्नो जिम्मेवारीअनुसारको मुख्य काम सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । एशियाली विकास बैंक (एडिबी) को करिब ६ अर्ब ३१ करोड रुपियाँ ऋण सहयोगमा स्तरोन्नति गरिएको यो सडक अब औपचारिक रूपमा सञ्चालन र व्यवस्थापनको चरणमा प्रवेश गरेको छ ।
सूचना अधिकारी पाण्डेले सडकको मुख्य पूर्वाधार, कालोपत्रे र पुलहरू (मादी बाहेक) को काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सडक क्षेत्रमा फुटपाथका केही सामान्य कामहरू मात्र बाँकी रहेका छन्, जसलाई फिनिसिङको रूपमा हेरिएको छ । बजार क्षेत्रमा ६ लेन र ग्रामीण तथा जङ्गल क्षेत्रमा ४ लेनमा विस्तार गरिएको यो सडक खण्ड हस्तान्तरण भएसँगै यस क्षेत्रको यातायात आवागमन निकै सहज र सुरक्षित बनेको छ ।
वि.सं. २०७७ माघ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएर सुरु भएको यस आयोजनाले ठुला अवरोधहरूका बिच पनि पूर्वी खण्डमा उल्लेखनीय सफलता प्राप्त गरेको हो । सडक हस्तान्तरण भइसके पनि बाँकी रहेका सानातिना फुटपाथका कामहरूलाई निर्माण अन्तिम रूप दिइरहेको आयोजनाले जनाएको छ । निर्माण पूरा भएको पाँच वर्षसम्म मर्मत तथा सम्भारको काम सम्झौता बमोजिम आयोजनाले नै गर्नेछ । गाेरखापत्र अनलाइनबाट साभार ।