पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ फराकिलो मतान्तरसहित विजयी भएकी छन् । पुराना राजनीतिक दलहरूको गढ मानिने यस क्षेत्रमा उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई झण्डै २५ हजार मतको अन्तरले पराजित गरिन् ।

बिनाले ३७ हजार ७ सय ५० मत प्राप्त गर्दा कांग्रेसका मनोज १२ हजार ७८० मतमा सीमित भए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ६५ हजार ४०७ मत खसेको थियो । तेस्रो स्थानमा यसअघि चुनाव जितेका नेकपा (एमाले) का उम्मेदवार दामोदर बैरागी रहे । उनले ७ हजार ९०६ मत प्राप्त गरे । यस्तै, नेकपाका उम्मेदवार गोपाल गिरीले १ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुन खनालले १ हजार ४०६ मत ल्याए । श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६ र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६३ मत प्राप्त गरे ।
यो जितसँगै बिना गण्डकी प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित हुने एक्ली महिला सांसद बनेकी छन् । गण्डकीमा अन्य क्षेत्रबाट जित हासिल गर्ने वा अग्रता कायम गर्नेमा कुनै पनि महिला उम्मेदवार छैनन् । जितपछि प्रतिक्रिया दिँदै बिनाले मतदाताको विश्वास मर्न नदिने प्रतिबद्धता जनाइन् ।