प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी

janjyoti

काठमाडौँ ।  जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । साँज ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँएका छन् ।

नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले जनज्याेति मावि मतदान स्थलबाट मतदान गरेका छन् ।  हसिलाे अनुहारका साथ मतदानमा सरिक भएका अधिकारी चुनाव जित्नेमा आशावादी छ्न ।

कास्की जिल्लामा मात्रै ३ लाख ८ हजार ५ सय ७२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । कास्कीमा ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ४४ पुरुष र ५ महिला छन् । जिल्लाभर १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र कायम गरिएको छ । कास्कीको क्षेत्र नम्बर १ मा ८ सय ४०, दुईमा ५ सय ८२ र तीन नम्बर क्षेत्रमा ७ सय ६२ गरी २ हजार १ सय ८४ जना कर्मचारी खटिएका छन् । कास्की १ मा एक लाख १६ हजार, २ मा ८४ हजार र तीनमा १ लाख ७ हजार मतदाता छन् कास्कीमा ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया