पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । कैदीबन्दीमध्ये मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३७ जनाले मतादान गर्न पाउने कास्की जिल्ला कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३७ जना मध्ये एक महिला रहनुभएको छ । कास्की कारागारमा ६ सय ९२ कैदीबन्दी रहेकामा २८ जना महिला, एक नाबालिका र अरु पुरुष छन् ।

उनीहरुले समानुपातिक मतदान गर्न पाउनेछन् । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा कास्कीका उनीहरुले मतदान गर्न पाउने भएका हुन् । अस्थायी मतदातामध्ये निर्वाचनमा नखटिएका कर्मचारीले पनि कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् ।
निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ । कार्यालका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार कास्कीका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको छ । कास्की जिल्लामा मात्रै ३ लाख ८ हजार ५ सय ७२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । कास्कीमा ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ४४ पुरुष र ५ महिला छन् । जिल्लाभर १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र कायम गरिएको छ । कास्कीको क्षेत्र नम्बर १ मा ८ सय ४०, दुईमा ५ सय ८२ र तीन नम्बर क्षेत्रमा ७ सय ६२ गरी २ हजार १ सय ८४ जना कर्मचारी खटिएका छन् ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित बनाउन चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको बताउनुभयो । कास्कीका मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कास्कीबाट ८ जनालाई नियन्त्रण लिइ ५जनालाई मुद्दा चलाइएको छ ।
मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ बनाइएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलसमेत तय गरेको छ । तीन वटै क्षेत्रको मतगणना सोही निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँमा नै हुनेछ ।