पोखरा । पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३४ औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको छ । अस्पातलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेका जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र दुईवटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।

नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको सहयोग आवश्यक भएको बताउनुभयो । सङ्घका उपाध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, महासचिव भरतबहादुर चन्दलगायतले अस्पतालको सेवा विस्तारलगायतका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा डा अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै विभागतर्फ जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिटलाई पुरस्कृत गरिएको थियो । अस्पतालमा लामो समय योगदान दिने कर्मचारी गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडू, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।