०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेपछिका ३५ वर्षमा यो देशले ३० जना प्रधानमन्त्री पायो । तर, कसैले पनि पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । यस अवधिमा दल र नेताहरूका राजनीतिक तिकडमले सरकार बन्ने र ढल्ने चक्र चलिरह्यो । त्यति मात्र होइन, जनताले बहुमत दिएर सिंहदरबार पठाएका दलले पनि आन्तरिक किचलोका कारण संसद् विघटन गरेर देशलाई मध्यावधिमा धकेले ।

सरकार चलाउने दलहरूका क्रियाकलापले नागरिकमा बढाउँदै लगेको निराशा गत २३ भदौसम्म आइपुग्दा उत्कर्षमा पुग्यो । जेन–जी पुस्ता नै विद्रोहमा उत्रिएपछि दुई ठुला दल कांग्रेस र एमालेले चलाइरहेको सरकार ढल्यो । आन्दोलनको मागअनुसार संसद् विघटन गरियो र २१ फागुनमा आमनिर्वाचन हुँदै छ । नयाँ जनादेशपछि देशले प्रजातन्त्र पुनस्र्थापनापछिको ३१औँ प्रधानमन्त्री पाउनेछ ।
यी ३५ वर्षमा कांग्रेस नेताद्वय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा सबैभन्दा धेरै पाँच–पाँचपटक प्रधानमन्त्री बने । एमाले अध्यक्ष केपी ओलीले चारपटक र तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपाका संयोजक) पुष्पकमल दाहाल प्रचण्डले तीनपटक देशको नेतृत्व गरे । कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले दुई–दुईपटक सरकार चलाए । भट्टराईले ०४६ को जनआन्दोलनपछि चुनावी सरकारको नेतृत्व पनि गरेका थिए । त्यसबाहेक मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुुशील कोइराला, खिलराज रेग्मी र सुशीला कार्कीले एक–एकपटक सरकारको नेतृत्व गरे ।
यस अवधिमा सत्ताका लागि विकृत खेलहरू पनि भए । सरकार ढाल्न र बनाउन सांसद किनबेचदेखि आफ्नै पार्टीको सरकार ढाल्नेसम्मका गतिविधि भए । कतिसम्म भने ठुला दलहरूको खिचातानीमा ११ सिट भएको तत्कालीन राप्रपाका सूर्यबहादुर थापा र आठ सिट भएको राप्रपा (चन्द)का नेता लोकेन्द्रबहादुर चन्द कांग्रेस, एमाले, तत्कालीन मालेको पालैपालो काँध चढेर प्रधानमन्त्रीको कुर्सीमा पुगे । यही राजनीतिक अस्थिरताको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दुईपटक सत्ता हत्याएर प्रत्यक्ष शासन गरे ।
गणतन्त्रपछि नेपाल दुईपटक गैरदलीय नेतृत्वमा पुगेको छ । पहिलो संविधानसभा १४ जेठ ०६९ मा विघटन हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम सरकारको मन्त्रिपरिषद् अध्यक्ष बने । त्यस्तै, २३ र २४ भदौको जेन–जी विद्रोहबाट दलहरू सत्ताच्युत हुनुका साथै प्रतिनिधिसभा विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् । कार्की सरकारको म्यान्डेट २१ फागुनमा चुनाव गराउनेछ ।
२१ फागुनमा हुने चुनावबाट देशले नयाँ प्रधानमन्त्री पाउनेछ । यसपटक प्रधानमन्त्रीका लागि मुख्य दाबेदारमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह छन् । यी तीनवटै दलले औपचारिक रूपमा प्रधामन्त्रीका ‘फेस’ अघि सारेका हुन् । तर, नेकपाले प्रधानमन्त्रीको रूपमा कसैलाई अघि नसारे पनि संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै एक दलको बहुमत नआउने दाबी गर्दै अब बन्ने सरकारमा आफ्नो नेतृत्व पनि हुन सक्ने संकेत गर्दै आएका छन् । चुनावबाट कुनै एक दलले बहुमत (समानुपातिकसहित १३८ सिट) ल्याउन नसके यसअघिजस्तै दुई वा दुईभन्दा बढी दल सम्मिलित सरकार बन्नेछ । यद्यपि, यसपटक दलहरू गठबन्धन नगरी चुनावी मैदानमा छन् । आजको नयाँ पत्रिका दैनिकको प्रथम पृष्ठमा समाचार छ ।