काठमाडौं । अमेरिका र इजरायलले जारी राखेको आक्रमणमा परेर इरानमा आइतबारसम्ममा कम्तीमा २ सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ सय ४८ जना त विद्यार्थी भएको दाबी गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित उनका परिवारका अधिकांश सदस्यको मृत्यु भएको छ । तेहरानको नेतृत्व परिसरमा आयोजना गरिएको बैठकमा खामेनी र उनका निकट सुरक्षा अधिकारी उपस्थित थिए । अपरेसन अमेरिकाले इजरायललाई जानकारी दिएर मिसाइल प्रहार गरेको जनाएको छ ।

इरानी न्यायपालिकाले पुष्टि गरेअनुसार खामेनी र उनका परिवारका सदस्यसँगै रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपोर, शीर्ष सुरक्षा सल्लाहकार अली शामखानीलगायतको पनि मृत्यु भएको छ । इजरायलमा अहिलेसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । खामेनीसहित उच्च सरकारी अधिकारी र बालबालिकाको ज्यान गएपछि इरानले थालेको जवाफी कारबाहीका कारण मध्यपूर्व क्षेत्र आइतबार पनि तनावग्रस्त हुन पुग्यो ।
इरानले मध्यपूर्वी देश साउदी, कतार, यूएई, बहराइनलगायतका देशमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण तीव्र पार्दा यो क्षेत्र अशान्त बनेको छ । इरानी जवाफी कारबाही नेपाली कामदार बाहुल्य क्षेत्रमा पर्दा ती क्षेत्रमा कार्यरत झन्डै १८ लाख नेपाली प्रभावित भएका छन् ।
तनाव बढ्दै जाँदा नेपालीले खाडीसहित मध्यपूर्वी क्षेत्रमा दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा बन्द गरेको छ भने ती देशमा भ्रमण नगर्न भनेको छ । खाडी क्षेत्रबाट फर्कने कामदारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय बिनमानस्थलको चाप बढेको छ भने आप्रवासी श्रमिकहरूको सुरक्षालाई लिएर विश्वव्यापी चिन्ता सुरु भएका छन् । नेपालसहित अधिकांश देशले मध्यपूर्वी देशका उडान रद्द गरेका कारण नेपालसहित अधिकांश देशका खाडी र मध्यपूर्व जान विमानस्थल पुगेका मानिस अलपत्र परेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।