काठमाडौँ । सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका लागि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति रोकिएको हो ।

वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति रोकेको जनाएको छ ।
सूचनाअनुसार ती देशमा रोजगारीका लागि यस विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने सबै प्रकारका श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो । मन्त्रालयले फागुन १७ गते सो निर्णय गरेको विभागले जनाएको छ । मध्यपूर्वमा बढ्दै गएको तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राखी सरकारले यो कदम चालेको हो ।