पोखरा । कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले रुपा गाउँपालिकाका मतदातासँग भेटघाट गरेका छन् । अधिकारीले शुक्रबार र शनिबार रुपा गाउँपालिकाका मतदातासँग भेटघाट गरेका हुन् । एमालेको राम्रो पकड क्षेत्र मानिने रुपामा बैनबहादुर पुग्दा स्थानीयको बाक्लो उपस्थिति थियो । उनले पूर्वाधार निर्माणतर्फ रुपा गाउँपालिकामा २०७४ सालअगाडि र अहिलेको अवस्थामा आकाश–जमिनको फरक रहेको दाबी गरे ।

कामको हिसाबले कास्की–१ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भूमिकामा प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । ‘रुपामा कति पक्की सडक थियो ? हाम्रो पूर्वाधारको अवस्था के थियो ? एकपटक सम्झौँ त । अहिले हाम्रो ठाउँको अवस्था के छ ?’ उनले थपे, ‘रुपामा एमालेले धेरै काम गरेको छ । कास्की–१ मा एमालेले काम गरेन भनेर प्रश्न उठाउने ठाउँ छैन ।’ उनले केही काम गर्न बाँकी हुनसक्ने र त्यसलाई आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता जनाए ।
रुपाले काम गर्ने जनप्रतिनिधि पाएको, अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङलाई हेरेर एमालेलाई मत दिन उनले आग्रह गरे । ‘यहाँ एमालेकै जनप्रतिनिधि हुनुहुन्छ । यो क्षेत्र प्रदेशमा पनि एमालेले जितेको छ । मैले जितेपछि उहाँहरुसँग सल्लाह गरेरै काम गर्ने हो,’ उनले थपे, ‘तलदेखि माथिसम्म सबै एउटै पार्टीबाट निर्वाचत भएको भएपछि हामीले झनै काम गर्न सक्छौँ ।’
रुपाका गाउँगाउँ पुग्ने भित्रि सडक पूर्णता दिन आफू खटिने उनले सुनाए । तटबन्धन, सामुदायिक भवन निर्माणमा पनि आफ्नो पहल रहने उनको भनाइ थियो । अधिकारीले आफू तलबभत्ता खानमात्र नभई जनताको आवाज संसद्सम्म लैजाने बताए । ‘भत्ता खानका लागि मात्र बैनबहादुर संसद्मा जाँदैन । त्यहाँ जनताका आवाज राख्न जाने हो । जनतालाई सहज हुने कानुन निर्माण गर्न जाने हो,’ उनले भने । उम्मेद्वार अधिकारी आइतबार आफ्नै जन्मथलो पोखरा–२८ का मतदातासँग भेटघाट गर्न जाने तालिका छ ।