इजरायल र अमेरिकाले शनिबार इरानको राजधानी तेहरानमा गरेको भीषण सैन्य आक्रमणपछि तेहरानले जवाफी हमला गरेको छ। तेहरानले इजरायलमा सयौँ मिसायल एकैपटक प्रहार गर्दा अमेरिकाका मध्यपूर्वमा रहेका सैन्य बेसमा पनि उसले मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गर्दा ४०० क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले इजरायल मात्र होइन, कतार, बहाराइन र युएईमा रहेका अमेरिकी सैन्य बेसहरूलाई पनि निशाना बनाएको छ।

यसअघि इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई लक्षित गरी आक्रमण गरेको थियो। आक्रमणपछि खामेनीले तेहरान छाडेका छन्। उनलाई सुरक्षित स्थानमा लगिएको दाबी गरिएको छ। इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ अभियानलाई ‘लायन्स रोअर’ (शेरको गर्जन) नाम दिएको छ। अल जजिराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको जनाएको छ।
यो आक्रमण इरान र अमेरिकाबीच आणविक हतियारसम्बन्धी वार्ता चलिरहेका बेला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै १० दिनभित्र सहमतिमा आउन अल्टिमेटम दिएका थिए। उनका अनुसार यो कदम अमेरिकालाई र उसका नागरिकलाई सम्भावित खतराबाट जोगाउन चालिएको हो। ट्रम्पले अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र ध्वस्त पार्ने र उसको मिसाइल कार्यक्रम समाप्त पार्ने प्रयास गरिरहेको पनि बताएका छन्।
बेलायती पत्रिका द गार्जियनका अनुसार इरानी सर्वोच्च नेता खामेनीले तेहरानबाट सुरक्षित स्थानमा लगिएको दाबी गर्दा रोयटर्स र न्युयोर्क टाइम्सले अमेरिका र इजरायलका आक्रमणहरूको मुख्य लक्ष्य इरानी अधिकारीहरू रहेका जनाएका छन्। त्यस्तै, रोयटर्सका अनुसार युएईको राजधानी अबुधाबीबाट ठूलो विस्फोटको आवाज सुनिएको छ। अधिकांश मध्यपूर्वका एयरस्पेशहरु बन्द गरिएका छन्। इरानले इजरायली आक्रमणको जवाफस्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण सुरु गरेको जनाइएको छ।
कतार र बहराइनपछि युएईस्थित अमेरिकी सैन्य आधारलाई पनि निशाना बनाइएको बताइएको छ। युएईमा रहेको उक्त अमेरिकी सैन्य अड्डाको नाम अल दफ्रा एयर स्पेस हो। साथै ट्रम्पले इरानी नागरिकहरुलाई सत्ता कब्जा गर्नका लागि आग्रह गरेका छन्। एजेन्सी ।