पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ । कार्यालयले गण्डकी प्रदेशका ११ जिल्लामा समन्वय तथा सहजीकरण गर्दै निर्वाचन सम्पन्न गर्ने तयारी गरेको हो। गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रदेशमा पुरुष ९ लाख १४ हजार ८ सय, महिला ९ लाख ५५ हजार २ सय ५१ र अन्य १४ जना मतदाता रहेका छन्। प्रदेशभर १ हजार २९७ मतदान स्थल र २ हजार ३९६ मतदान केन्द्र तोकिएका छन्।

१८ क्षेत्रमा २३४ उम्मेदवार
गण्डकी प्रदेशका १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्र उम्मेदवारसहित कुल २३४ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये २९ महिला र २०५ पुरुष उम्मेदवार छन्। सबैभन्दा बढी १८ राजनीतिक दलले कास्कीमा उम्मेदवारी दर्ता गराएका छन् भने सबैभन्दा कम मनाङमा ३ दल मात्र चुनावी प्रतिस्पर्धामा छन्।
उच्च हिमाली क्षेत्रमा विशेष तयारी
३००० मिटरभन्दा माथि रहेका ५४ मतदान केन्द्रमा विशेष तयारी गरिएको छ। मुस्ताङमा १, गोरखामा १५ र मनाङमा १४ सहित विभिन्न जिल्लामा गरी कुल ५४ केन्द्र उच्च हिमाली क्षेत्रमा रहेका छन्। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको शाड्ता गाउँ (४४०० मिटर) र मनाङको नार्पा भूमि गाउँपालिकाका नार र फू गाउँ (४२०० मिटर) मा हिमपातका कारण केन्द्र सार्नुपर्ने प्रस्ताव आएको भए पनि मौसम सुधार भएसँगै सम्बन्धित केन्द्रमै मतदान गर्ने सहमति भएको छ।
छुट्टै बैंक खाता खोल्न उम्मेदवारको आलटाल
उम्मेदवारले अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न आलटाल गरेको देखिएको छ । निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा कास्कीमा ४९ मध्ये ४२ उम्मेदवारले मात्रै आफ्नै नाममा खाता सञ्चालनमा ल्याएका छन् । ४५ जनाले खर्च विवरणका लागि सिफारिस लिए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले दुई जनाको खाता खुल्न सकेन ।
प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालका अनुसार एक उम्मेदवारको नागरिकता विवरण नमिल्दा खाता खुलेको छैन भने चार जनाले पार्टीकै खाताबाट कारोबार गर्ने भन्दै आयोगको निर्देशन पालना गरेका छैनन् । आचारसंहिताअनुसार उम्मेदवारले छुट्टै बैंक खातामार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था भए पनि उल्लंघनमा कस्तो कारबाही गर्ने भन्नेबारे आयोगले स्पष्ट निर्णय गरेको छैन ।
चारवटै सुरक्षा निकाय परिचालन
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित बनाउन चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको बताइन् । कास्कीका मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कास्कीबाट ८ जनालाई नियन्त्रणमा लिइएको छ, जसमध्ये ३ जनाविरुद्ध मुद्दा चलाइएको छ भने ५ जनामाथि अनुसन्धान भइरहेको छ । मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ बनाइएको छ ।


















