पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान हुन अब ८ दिन मात्र बाँकी रहँदा गण्डकी प्रदेशमा चुनावी सरगर्मी तीव्र बनेको छ । सुरक्षा प्रबन्धदेखि अन्य व्यवस्थापकीय कार्यलाई अन्तिम रूप दिन निर्वाचन कार्यालय र सम्बन्धित निकाय अहोरात्र खटिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्याैपानेका अनुसार गण्डकीका ११ वटै जिल्लामा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनलाई व्यवस्थित बनाउन प्रदेशभर १४ हजारभन्दा बढी कर्मचारी परिचालन गरिँदैछ ।कर्मचारीहरूको छनोट र तालिमको काम अन्तिम चरणमा पुगेको छ भने आगामी फागुन १८ गतेभित्र उनीहरूलाई सम्बन्धित मतदानस्थलमा खटाउने तयारी छ ।
मतदानको सही तरिका सिकाएर बदर मत कम गर्ने उद्देश्यले निर्वाचन आयोगले यसपटक मतदाता शिक्षामा विशेष जोड दिएको छ । यसका लागि प्रत्येक वडामा स्वयंसेवकहरू परिचालन गरिएको छ, जसले घरदैलोमा पुगेर मतदान प्रक्रियाबारे जानकारी दिइरहेका छन् ।
चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ लागू गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयाे । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेर सुरक्षा रणनीति बनाइएको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना रहने गरी चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।
तथ्याङ्क अनुसार गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र रहेका छन् । यसपटक १८ लाख ७० हजार ६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यो सङ्ख्या विसं २०७९ को निर्वाचनभन्दा २ लाख ७ हजार ८१९ ले बढी हो । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा गस्ती र मतदानस्थलको अनुगमनलाई समेत प्रभावकारी बनाइएको छ ।