धादिङ बस दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

धादिङ बस दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

accident_UPDhwBMd6M

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरू सहभागी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस सोमबार बिहान करिब १:३० बजे दुर्घटनामा परेको थियो । अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।

बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनालगत्तै उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय बासिन्दाको समन्वयमा तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । मृतकहरूको शव नदीबाट निकालिएको र सनाखत प्रक्रिया जारी रहेको तथा घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको गृहका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै