मुग्लिन–मलेखु सडक विस्तारकाे काम तीव्र

मुग्लिन–मलेखु सडक विस्तारकाे काम तीव्र

mauri-odar-kalopatre-photo

चितवन ।  पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । यही पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ ।

धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले अहिले कालोपत्रका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ ।” अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो ।

झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उहाँले बताउनुभयो । यसैगरी छ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो । कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उहाँको भनाइ छ । सामग्री पाएमा अब काम नरोकिने दराई बताउनुहुन्छ ।

प्रतिक्रिया