पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोलसँगै उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त छन् । यही व्यस्त चुनावी दौडधुपकाबिच आज पोखरा–१४ चाउथेस्थित शिव मन्दिर परिसरमा देखिएको एक दृश्यले राजनीतिक प्रतिस्पर्धाभन्दा माथिको हार्दिकता र सहअस्तित्वको सन्देश दिएको छ । कास्की क्षेत्र नम्बर एकमा नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले केन्द्रीय सदस्य तिलक रानाभाटलाई उम्मेदवार बनाएको छ ।


आज शिवरात्रिको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजना र स्थानीय विभिन्न संघ संस्थाको सहकार्यमा भजन चुट्का प्रतियोगिता भएको छ । त्यहीँ कार्यक्रममा मतदातासँग मत माग्न जादा दुबै उम्मेदवारको झम्काभेट भयो । त्यो भेट प्रतिस्पर्धाको कठोरता भन्दा बढी आत्मीयताले भरिएको थियो । दुबै उम्मेदवारले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना साटासाट गर्नुभयो । चुनाव भनेको विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा हो भने दलीय व्यवस्थामा फरक धार र दृष्टिकोण स्वाभाविक मानिन्छ । तर व्यक्तिसँग व्यक्तिको सम्बन्धमा हार्दिकता र सम्मान कायम रहनु नै लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने सन्देश आज उम्मेदवारको भेटले दिएको छ ।
रोचक त के भने, दुबै उम्मेदवारका लागि यो संसदीय निर्वाचन पहिलो अनुभव हो । अधिकारी तत्कालीन कालिका गाविसमा २०५४ मा उपाध्यक्षहुँदै राजनीतिमा सक्रिय छन् । उनले २०७४ देखि ७९ सम्म जिल्ला समन्वय समिति कास्कीको प्रमुख भएर काम गरेपनि संसदीय चुनाव भने पहिलो हो । रानाभाट महाधिवेशनप्रतिनिधि हुँदै नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । उहाँपनि पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । पहिलो पटक संसद्को दौडमा उत्रिएका यी दुई नेताबीच देखिएको मित्रवत व्यवहारले युवा मतदाता र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

शिवरात्रिको धार्मिक र सांस्कृतिक वातावरणमा भएको यो झम्काभेटले चुनावी तिक्तता भन्दा पनि सहिष्णुता र सभ्य प्रतिस्पर्धाको अभ्यास देखाएको छ ।
मत माग्न आएका उम्मेदवारहरूबीचको आत्मीय अंकमालले लोकतन्त्र मतपेटिकामा सीमित नभई व्यवहारमा पनि झल्कनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको स्थानीयको प्रतिक्रिया थियो । पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले कार्यक्रमस्थलमा मत माग्न आउने उम्मेदवारलाई माला लगाएर स्वागत गर्दै मतदातासँग परिचय गराउने जानकारी गराएका थिए । राजनीतिक प्रतिस्पर्धाभित्र पनि सहकार्य, सम्मान र सद्भाव सम्भव भएको उहाँहरुको व्यवहारले देखाएको छ भने लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष पनि यही हो। कास्की क्षेत्र नम्बर एकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पाैडेल (गनेस), नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ, मनीषा द्वा उज्यालो नेपाल पार्टीबाट कास्की एकमा उम्मेदवार छन् ।
यो क्षेत्रमा राप्रपाबाट बाबुराम थापा, नेपाल मानवतावादी पार्टीका आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, नेसनल मंगोल अर्गनाइजेसनबाट मान थापा, श्रमसंस्कृति पार्टीबाट विलबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट कुमार परियार, नेपाल जनमुक्ति पार्टीका मीनबहादुर दर्जी, नेसनल रिपब्लिक नेपालका यज्ञबहादुर गुरुङ, जनता समाजवादी पार्टीका रामकाजी चर्मकार र आम जनता पार्टीका हर्कबहादुर थापा चुनावी प्रतिष्पर्धामा छन् । यो क्षेत्रमा कृष्णबहादुर राउतले मात्र स्वतन्त्र उम्मेदवारी दिएका छन् ।