पोखरा । आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा पुग्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल जित्नै पर्ने दबाब छ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल समूह ‘सी’ मा दबाबमा परेको हो। यद्यपि अझै तीन खेल बाँकी रहेकाले शीर्ष दुई स्थानमा पुग्ने सम्भावना जीवितै छ। नेपालले इटालीपछि दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्न बाँकी छ। पाँच टोली रहेको प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर आठमा पुग्ने प्रावधान छ। नेपाल र इटालीबिचकाे खेल आन दिउँसाे ३:१५ बजे मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा हुनेछ ।

गत आइतबार इङ्ग्ल्यान्डविरुद्ध नेपालले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्यो। खेल अवधिभर दबाबमा राखेर पनि अन्तिम ओभरमा चुक्दा नेपाल जितबाट वञ्चित भएको थियो। त्यस खेलले नेपाल केवल सहभागीका रूपमा नभई प्रत्येक खेल जित्ने लक्ष्यसहित भारत आएको सन्देश दिएको थियो। दुई एसोसिएट टोलीबीचको भिडन्त भएकाले इटालीविरुद्ध नेपाललाई जितको दाबेदार मानिएको छ। यसको आधार इङ्ग्ल्यान्डविरुद्धको प्रदर्शन मात्र होइन, पछिल्लो लय पनि हो। ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित रहँदै नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जित्दै इतिहास रच्यो। विश्वकपका वार्मअप खेलमा संयुक्त अरब इमिरेट्स र क्यानडालाई सहजै पराजित गरेपछि नेपाललाई ठूला टोलीले पनि हलुका रूपमा लिन छाडेका छन्।
नेपालले लगातार दोस्रो खेल मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा खेल्दैछ। इटालीले भने पहिलो खेल कोलकाताको इडेन गार्डेनमा खेलेको थियो। नेपालले वानखेडेमा अभ्यास गर्ने अवसर पनि पाइसकेको छ। एउटै मैदानमा समूह चरणका सबै चार खेल खेल्ने भाग्यशाली टोली नेपाल मात्र हो, जसले घरेलु अवस्था बुझ्न सहज बनाएको छ। नेपाल र इटालीबीच अन्तर्राष्ट्रिय टी–२० मा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यद्यपि ५० ओभरको खेलमा तीन पटक आमनेसामने हुँदा तीनै खेलमा नेपाल विजयी भएको इतिहास छ।
नेपालका कप्तान रोहित पौडेलले इटालीलाई कुनै पनि हालतमा कम आँक्न नहुने बताएका छन्। “इङ्ग्ल्यान्डविरुद्धको प्रदर्शनपछि खेलाडीको आत्मविश्वास बढेको छ। त्यही लय इटालीविरुद्ध पनि कायम राख्नुपर्छ। इटाली राम्रो टोली हो र पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ,” उनले भने। नेपालका लेग स्पिनर सन्दीप लामिछानेमा विशेष नजर रहनेछ। दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र गुल्सन झा जस्ता अलराउन्डरले टोलीलाई सन्तुलित बनाएका छन्। स्कटल्यान्डविरुद्ध इटाली स्पिनर माइकल लिस्कको स्पिनमा धराशायी भएको थियो। त्यसैले सन्दीपसहित नेपालका अन्य स्पिनरहरू पनि निर्णायक सावित हुनेछन् ।

















