पोखरा । कास्की प्रहरीले लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ। गत साेमबार दिउँसो करिब ४:०० बजे पोखरा महानगरपालिका वडा नं. ११ जनजागृति टोलमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा तथा वडा प्रहरी कार्यालय रामबजार कास्कीको संयुक्त टोलीले जिल्ला कास्की पोखरा–११ बस्ने ३० वर्षीय रोशन गुरुङ, जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका–४ स्थायी वतन भई हाल पोखरा–११ जनजागृति टोल बस्ने ४४ वर्षीय विश्वास गुरुङ र जिल्ला म्याग्दी मालिका गाउँपालिका–६ स्थायी वतन भई हाल पोखरा महानगरपालिका–३१ मोहरिया बस्ने ४१ वर्षीय गंगा पुर्जालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको शरीर तथा घरकोठा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ २४.१५ ग्राम, एक थान डिजिटल तराजु, नगद रु. १,४२,००० (एक लाख बयालिस हजार रुपैयाँ) तथा विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

















