पर्यटक बढाउन पर्यटन बाेर्डले गर्दै छ नेपाल प्रवर्द्धन कार्यक्रम

पर्यटक बढाउन पर्यटन बाेर्डले गर्दै छ नेपाल प्रवर्द्धन कार्यक्रम

pokhara visiter

काठमाडौँ। नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल प्रवर्धनका कार्यक्रममा जोड दिएको छ । आर्थिक वर्ष २०८२/८३ को कुल बजेटको ७० प्रतिशत पर्यटन प्रवर्धनमा खर्च गर्ने गरी प्रवर्धनको अभियान चलाएको बोर्डले युरोप, अमेरिका, एसियाली र आसियान मुलुकबाट १५ प्रतिशत पर्यटक बढाउने लक्ष्यसहित नेपाल प्रवर्धनका कार्यक्रम गरिरहेको जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, “बोर्डले यस वर्ष कम्तीमा ५० वटा स्रोत बजारमा प्रवर्धनात्मक कार्यक्रम गर्ने योजना अनुसार भारत, चीन, अमेरिका, क्यानडा, जापान, कोरिया, बङ्गलादेश, मलेसियालगायत युरोपका देशमा प्रवर्धनमा जोड दिएका छौँ । विशेष रणनीति अन्तर्गत यो वर्ष दक्षिण–पूर्वी एसियाली मुलुकबाट पर्यटक आगमन बढ्ने विश्वास गरेका छौँ ।”

बोर्डले चालु आर्थिक वर्षका लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपियाँको बजेट ल्याएको थियो । जसमध्ये पर्यटन बजार व्यवस्थापन तथा प्रवर्धनका लागि ४३ करोड ६१ लाख र जनसम्पर्क तथा प्रचारप्रसारका लागि मात्रै १२ करोड ९५ लाख रुपियाँ विजियोजन गरेको थियो ।पछिल्लो समय भारत, चीन, थाइल्यान्ड, फिनल्यान्ड, स्पेन, अमेरिका, क्यानडालगायतका मुलुकमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरबारे प्रवर्धन गरिएको जानकारी दिँदै उहाँले चाँडै पहिलो चरणमा म्यान्मार, भियतनाम, बर्लिन, चीन, अमेरिकालगायतका मुलुकमा प्रवर्धन गर्न लागिएको बताउनुभयो ।

त्यस्तै दोस्रो चरणमा जापान, कोरिया, अस्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, मलेसियालगायत युरोपका देशमा नेपाल प्रवर्धन गर्ने, पर्यटन मेलामा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुर जस्ता कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । बोर्डले सन् २०२६ लाई आसियान पर्यटन वर्षका रूपमा अघि बढाएकाले दक्षिण एसियाली मुलुक इन्डोनेसिया, फिलिपिन्स, सिङ्गापुर, लाओस, म्यान्मार र क्याम्बोडिया बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनका आयाम लगायतबारे नेपाल प्रवर्धनमा जोड दिइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै