कास्कीमा किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचभिपी खोप अभियान सुरु गरिएको छ । हिजाेदेखि पोखरा महानगरपािलकामा खाेप लगाउन सुरु भएकाे हाे । फागुन ७ देखि चैत ६ गतेसम्म मुस्लिम धर्मालम्बीहरुले मनाउने रमाजान पर्व र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएकाले त्यस अघि नै खोप अभियान सुरु गरेको हो ।

कास्कीको पोखरा महानगरपालिकाका २५ वटा वडामा शुक्रबारदेखि खोप अभियान सुरु भएको प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश पोखराका खोप अधिकृत एकनारायण लम्सालले बताए । ‘कास्कीमा यसवर्ष विद्यालय ५ हजार ६ सय ४९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचभिपी खोप लगाइँदै छ’, खोप अधिकृत लम्सालले भने, ‘कास्कीको पाँच स्थानीय तहमध्य पोखरा महानगरपालिकाको २५ वटा वडामा आजदेखि अभियान सुरु भएको छ बाँकी ४ पालिकामा क्रमशः सोमबारदेखि खोप अभियान सुरु हुन्छ ।’
कास्कीको ३ सय ५४ वटा विद्यालयमा खोप लगाइने खोप अधिकृत लम्सालले बताए । ‘कास्कीको ३ सय ५४ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइँदैछ’, उनले भने, ‘विद्यालय नै खोप केन्द्र हो,कक्षा ६ मा अध्ययन गर्ने छात्रा तथा १० वर्ष उमेरका किशोरीलाई मात्र यो खोप दिइने छ ।’ कास्कीको पोखरा महानगरपालिकामा ५ हजार ३३ जना, रुपा गाउँपालिकामा ५० जना, माछापुच्छ्रे गाउँपालिकामा २ सय ८८, मादी गाउँपालिकामा ८९ जना र अन्नपूर्ण गाउँपालिकामा १ सय ८९ जना किशोरीलाई खोप लगाइने छ ।
यस्तै गतवर्ष खोप लगाउन छुटेका १ सय १६ जना किशोरीलाई यस वर्ष खोप लगाइने छ । आइतबार देखि सुरु भएको खोप अभियान पोखरा महानगरपालिकामा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउनका लागि पोखरा महानगरपालिकामा ३ सय २१ वटा खोप केन्द्र तोकिएको छ । माछापुच्छ्रे गाउँपालिकामा २२, अन्नपूर्ण र मादी २०/२० र रुपा गाउँपालिकामा १० वटा खोप केन्द्र बनाइएको खोप अधिकृत लम्सालले जानकारी दिए । कास्कीका किशोरीहरुलाई लगाउनका लागि खोप दिने स्वास्थ्यकर्मी र स्वयं सेवक १५७/१५७ परिचालित हुनेछन् ।
यस्तै अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा माघ २६ देखि २८, मादी र माछापुच्छ्रे गाउँपालिकामा फागुन ४ र ५ गते अभियान सुरु खोप अधिकृत लम्सालले बताए । ५ हजार ६ सय ७६ खोप सम्बन्धीत खोप केन्द्रमा पुर्याइसकेकाे उनले बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पाठेघरको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचभिपी खोप ढुक्क भएर लगाउन आग्रह गरे । ‘खोप अभियानका लागि स्थानीय पालिकाहरुको समन्वयमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन्’, प्रमुख पौडेलले भने, ‘खोप सुरक्षित र महिलाको जीवन रक्षा गर्ने भएकाले ढुक्क भएर लगाउन आग्रह गर्छु ।’