ताेरीपानी म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि १ हजार ७ सय ५० मिटर उचाइमा रहेको तोरीपानी गाउँबाट धवलागिरी, माछापुच्छ्रे हिमाललगायत अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । तोरी पानी मसलेदार टिमुरखेतीका लागि पनि प्रख्यात छ ।


यहाँको टिमुर विदेशसमेत निर्यात हुने गरेको छ । तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहासिक स्थल ढोलठाना दरबार, धार्मिकस्थल पछै पर्दछन् । यहाँ आउने पर्यटकको सुविधाका लागि स्थानीयहरुले होमस्टे समेत सञ्चालनमा ल्याएका छन् । म्याग्दीको सदरमुकाम बेनीदेखि ३० मिनेटको सवारीसाधनको यात्रा पछि तोरीपानी गाउँ पुग्न सकिन्छ ।

बेनीबाट ८ किलोमिटरको दुरीमा तोरीपानी रहेको छ । यहाँ सामुदायिक घरबास (होमस्टे) सुरु भएको छ । ५ घरमा घरबास सुरु गरिएको छ भने ३० जना पाहुनालाई एक रातमा राख्न सकिने वडा सदस्य शारदा विकले बताउनुभये । हाेमस्टे सञ्चालन गरेको करिब ३ महिना पाँच समूह ताेरी पानी आएको र यसले आफूहरुलाई उत्साहित बनाएको जुना खत्रीले बताउनुभयाे । उहाँका अनुसार घरबासलाई अझ बिस्तार गर्ने याेजना रहेको छ ।


