पोखरा । टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो ।

आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए । न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो ।
च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबिच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् । भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबिच हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
