पोखरामा जारी टाइगर कप भलिबलमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।
यसअघि पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गरेका थियो । एपीएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
यस्तै आजको दोस्रो खेलमा महिलातर्फ थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।