देवकोटा र तिमिल्सिना गण्डकीबाट राष्ट्रिय सभामा विजयी

देवकोटा र तिमिल्सिना गण्डकीबाट राष्ट्रिय सभामा विजयी

samjhana and jagat

पोखरा ।  गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा  नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ । आइतबार साँझ भएको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिना पाँच हजार ३३ मतभारसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कपिल लामाले नौ सय ४१ मतभार पाउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले ७६ मतभार पाउनुभयो । तिमिल्सिनालाई ४८ प्रदेशसभा सदस्य र एकसय ३१ स्थानीय तहका प्रमुख–उपप्रमुखले मत हाल्नुभएको छ ।  यसपालिको राष्ट्रियसभा चुनावमा नेकपा (एमाले) र नेपाली कांग्रेसले गठबन्धन गरी संयुक्त उम्मेदवारी दिएका छन् । महिला समूहबाट नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा विजयी बन्नुभयो । देवकोटाले पाँच हजार १४ मतभार पाउँदा उहाँकी प्रतिस्पर्धी गोमा लुइँटेल घिमिरेले नौ सय ४१ मतभार पाउनुभयो । राष्ट्रिय जनमोर्चाबाट सोही पदकी उम्मेदवार लक्ष्मी बास्कोटाको भागमा ७६ मतभार परेको छ ।

देवकोटाले प्रदेश सभातर्फ ४८ मत र स्थानीय तहतर्फ एकसय ३० मत जनाले मतदान गरेको पाइएको छ । अन्य समूहमा दुई प्रदेशसभा सदस्य र एक पालिकाका प्रतिनिधि र महिलामा दुई जना प्रदेश सांसद र दुई स्थानीयका तह जनप्रतिनिधिको मत बदर भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका तिमिल्सिना तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ७ का बासिन्दा हुनुहुन्छ । गोरखा नगरपालिका वडा ३, नारेश्वरकी स्थायी बासिन्दा देवकोटा अघिल्लो राष्ट्रियसभा निर्वाचनमा समेत सोही पदकी उम्मेदवार हुनुहुन्थ्यो । उहाँ गोरखा नगरपालिकामा २०७४ मा उपप्रमुख र २०७९ मा प्रमुखमा पराजित हुनुभएको थियो ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा यहाँ चुनाव भएको हो । आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुईसय २३ जना सहभागी हुनुभयो । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी एकसय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हालेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

गण्डकीको ६० सदस्यीय प्रदेश सभामा एक स्थान रिक्त छ । ५९ प्रदेशसभा सदस्यमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई प्रदेशसभा सदस्यले मत हाल्नु भएन । राप्रपाले राष्ट्रियसभा चुनावमा भाग नलिने निर्णय गरेको छ । प्रदेशका ८५ स्थानीय तहका एक सय ७० प्रमुख–उपप्रमुखमध्ये तीन जना आइतबार अनुपस्थित हुनुभयो । स्याङ्जाको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विदेशमा हुनुहुन्छ भने स्याङ्जाकै कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापामगरले राजीनामा दिइसक्नुभएको छ । उहाँ आउँदो प्रदेशसभा निर्वाचनमा एमालेबाट स्याङ्जा २ का उम्मेदवार हुनुहुन्छ ।

मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा पनि मतदान गर्न आउनु भएन । नेकपा (एमाले) बाट निर्वाचित ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीले अहिले पुर्पक्षका लागि जेलमा भएकाले मत हाल्न आउन पाउनु भएन । राष्ट्रियसभामा प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । गण्डकीमा कांग्रेसका सांसद २७ जना र स्थानीय तह प्रमुख र उपप्रमुख गरी ६६ जना छन् । गण्डकीमा एमालेका सांसद २२ जना छन् ।

स्थानीय तहमा प्रमुख र उपप्रमुखमा गरी ७० जना एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् । यहाँ नेकपाका प्रदेश सांसद सात जना र स्थानीय तह प्रमुख तथा उपप्रमुख गरी ३१ जना छन् । गण्डकीमा जनमोर्चाका सांसद नरहे पनि स्थानीय तहमा तीन प्रमुख–उपप्रमुख छन् ।

प्रतिक्रिया