काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ ।

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान केन्द्र तोकेको छ । मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र तोकेको हो । त्यसै गरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालयपरिसर पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र तोकिएको हो ।

आयोगले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतबाट प्रदेश सभा र गाउँपालिका वा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको हकमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार नेकपा (एमाले) का आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका एक/एक गरी १८ जना सदस्यको पद रिक्त हुँदै छ । मनोनीत सदस्य वामदेव गौतमले यसअघि नै राजीनामा गर्नुभएको छ । राष्ट्रपतिले रिक्त एक सदस्य पदमा मनोनीत गर्नुहुने छ ।
आयोगका अनुसार सात वटै प्रदेशमा गरी कुल २०३८ मतदाता छन् तर कतिपय स्थानीय तहका पदाधिकारीले राजीनामा गरेर आमनिर्वाचनमा भाग लिन लाग्दा रिक्त हुन गएको पदाधिकारीको नामसमेत मतदाता नामावलीमा समेटिएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा यस पटक सबैभन्दा बढी मधेश प्रदेशबाट चार जना निर्वाचित हुने छन् । कोशी प्रदेशले महिला, दलित र अन्य समूहबाट एक/एक गरी तीन जना निर्वाचित गर्ने छ । मधेशले महिला, दलित, अपाङ्गता वा अल्पसङ्ख्यक व्यक्ति र अन्यबाट एक/एक गरी चार जना निर्वाचित गर्ने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमले महिला र अन्य समूहबाट एक/एक गरी दुई/दुई जना निर्वाचित गर्ने छन् । लुम्बिनीबाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट एक/एक गरी तीन जना सदस्य निर्वाचित हुने छन् । अर्को एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् ।
राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा १८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । एमालेबाट आठ, नेपाली कम्युनिस्ट पार्टीबाट १७, नेपाली कांग्रेसबाट नौ, जनता समाजवादी पार्टीबाट तीन र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक, नेपाल मजदुर किसान पार्टीबाट दुई र राष्ट्रिय जनमोर्चाबाट चार पदका लागि मनोनयन दर्ता भएको हो ।
निर्वाचनमा १८ प्रकारका मतपत्र छापिएका छन् । निर्वाचित हुने समूह अनुसार सबै पदका लागि अलग अलग मतपत्र छन् । उम्मेदवारको नामसहितको मतपत्र छापिएका छन् । आयोगका सहायक प्रवक्ता न्यौपानेले पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि तथा प्रदेश सभा सदस्यका लागि छुट्टा छुट्टै रङको मतपत्र छापिएका छन् ।
पालिकाका मतदाताका लागि सेतो पृष्ठभूमिमा रातो मतपत्र तथा प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो मतपत्र प्रयोग हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनले सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने व्यवस्था गरेको छ ।
प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणा गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित हुने छन् । राष्ट्रिय सभाका सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । सभाका सदस्यको पदावधि भने छ वर्षको हुन्छ । सो व्यवस्थाबमोजिम २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो ।
गण्डकीमा २ पदमा चुनाव
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)की भगवती न्यौपानेको पदावधि सकिन लाग्दा यहाँ निर्वाचन भएको हो। गण्डकीमा सत्ता साझेदारी गरिरहेका नेकपा (एमाले) र नेपाली कांग्रेसले चुनावी गठबन्धन गरी संयुक्त रुपमा उम्मेदवार उठाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा अलग अलग रुपमा प्रतिस्पर्धामा छन्।
एमालेबाट महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटाको उम्मेदवारी परेको छ। एमाले कांग्रेस गठबन्धनको तर्फबाट कांग्रेसले खुलामा प्राडा जगत् तिमिल्सिनालाई अघि सारेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिला क्लस्टरबाट नेकपाकी गोमा लुइटेल घिमिरे र खुलाबाट कपिल लामालाई मैदानमा उतारेको छ।
राष्ट्रिय जनमोर्चाका खुलामा शंकरप्रसाद बराल र महिलामा लक्ष्मी बाँस्कोटा उम्मेदवार छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार छ। प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ। स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी गण्डकीको कुल मतभार छ हजार तीन सय ५७ छ।
प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ। कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ। यहाँ दोस्रो दल एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि छन्। एमालेसँग दुई हजार चार सय ५८ मतभार छ।
साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ। माओवादी केन्द्रकै चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा हुनुहुन्छ।
गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य हनुहुन्छ। अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई सघाइरहेको राप्रपाले राष्ट्रियसभा चुनावमा भाग नलिने निर्णय गरिसकेको छ। यहाँ दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ। मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने पछिल्लो क्रममा एमाले निकट हुनुहुन्छ।