पोखरा । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल आजदेखि सुरु हुँदैछ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अनुसार माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छ । प्रतियोगिताको पहिलो दिन आत्तीतज न खेल हुनेछन् । प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले नेपाल भलिबल संघको स्वीकृति र समन्वयमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुने जानकारी दिए । । यस संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स (थाइल्याण्ड) तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदान उत्रनेछन् । प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले रु. ६ लाख ६६ हजार ६६६, दोस्रोले रु. ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु. २ लाख ६ हजार६६६ रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु. २६,६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीहरूलाई रु. ११,६६६ बराबरको उपहारको व्यवस्था गरिएको छ।

दर्शकहरूका लागि रु. ३,५०० मूल्यको अनलाइन सिजनल टिकट खल्ती एप मार्फत उपलब्ध रहेको आयोजकले जनाएको छ । प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालका तर्फबाट सोभिनियर प्रदान गरिनेछ भने दैनिक टिकट काटी प्रवेश गर्ने दर्शकमध्ये एक जना भाग्यमानीलाई एक्सटेप नेपालको तर्फबाट टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु. १ करोड ८० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन एलईडी लाइट, एलइडी स्क्रिन डिजिटल बोर्ड, ठूलो क्षमताको प्याराफिट तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका सचिब डिबी नेपालीले जनाएका छन् । त्यस्तै उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाए । प्रतियोगितालाई निष्पक्ष रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धा प्रतियोगिताका टेक्निकल डाइरेक्टर टहल सिंह थापाले जनाएका छन् ।
