देशभर ५ जना विरुद्ध उजुरी दर्ता

देशभर ५ जना विरुद्ध उजुरी दर्ता

elecation aayog

काठमाडौं  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३ हजार ४८७ उम्मेदवारमध्ये ५ जना विरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूमध्ये ४ जिल्लाका ५ जना विरुद्ध योग्यता सम्बन्धी प्रश्न उठाउँदै उजुरी दर्ता गरिएको हो । उजुरी पर्नेमा सुनसरी, रौतहट, भक्तपुर र कैलालीका उम्मेदवारहरू रहेका छन् ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट १ जना, रौतहटको क्षेत्र नम्बर १ बाट १ जना, भक्तपुरको क्षेत्र नम्बर २ बाट २ जना र कैलालीको क्षेत्र नम्बर १ का १ जना उम्मेदवार विरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । सोही अवधिमा ५ वटा उजुरी दर्ता भएको विवरण आयोगमा प्राप्त भएको उनले जानकारी दिए ।

सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरूले प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को अनुसूची १६ बमोजिम यी उजुरीहरू दर्ता गरेका हुन् । आयोगका अनुसार निर्देशिकाको अनुसूची १७ बमोजिम दर्ता किताबमा चढाएर उजुरीकर्तालाई अनुसूची १८ अनुसारको भर्पाई समेत उपलब्ध गराइएको छ । उजुरी परेका उम्मेदवारहरूको विवरण अनुसूची १९ बमोजिम तयार गरी सम्बन्धित कार्यालयहरूमा प्रकाशन गरिएको छ । यस्ता उम्मेदवारहरूले तोकिएको समयभित्र प्रमाण सहित उपस्थित भएर आफ्नो योग्यता पुष्टि गर्नुपर्ने कानुनी व्यवस्था छ । सूचना प्रकाशन भएपछि सम्बन्धित पक्षले जानकारी पाएको मानिने छ ।

प्रतिक्रिया