कास्कीका तीन क्षेत्रमा कोकोले दिए उम्मेदवारी ?

कास्कीका तीन क्षेत्रमा कोकोले दिए उम्मेदवारी ?

umedwar all photo kaski

पोखरा । प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीमा ४९ जनाको उम्मेदवारी परेको छ । २१ फागुनमा हुने निर्वाचनको लागि कास्की क्षेत्र नम्बर १ मा १७ जना २ मा १८ जना र ३ मा १४ जनाको गरी ४९ जनाको उम्मेदवारी परेको हो । एकमा १६ दल, २ मा १३ दल र तीनमा १४ दलबाट उम्मेदवारी परेको हो भने बाँकी स्वतन्त्र रुपमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ मा तीलक रानाभाट, २ मा माधवप्रसाद बास्तोला (मधु) र ३ मा मनोज गुरुङलाई उम्मेदवारी परेको छ । रानाभाट कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ भने बास्तोला (मधु) कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता हुनुहुन्छ । बास्तोला २०५४ मा तत्कालीन पोखरा उपमहानगरपालिकाको वडाध्यक्ष हुनुहुन्थ्यो । गुरुङ क्षेत्रीय सभापति र तरुण दल कास्कीको अध्यक्ष हुनुहुन्छ ।

नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर एकमा बैनबहादुर अधिकारी क्षेत्री, दुईमा रश्मी आचार्य र तीनमा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । अधिकारी एमाले कास्कीका अध्यक्ष हुनुहुन्छ भने उहाँ २०७४ देखि ५ वर्ष जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुनुहुन्थ्यो । आचार्य एमालेको केन्द्रीय सदस्य हुनुहन्छ । कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार वैरागी निवर्तमान प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कास्की एकमा राजकाजी गुरुङ (करन), २ बाट हेमबहादुर थापा (किरण थापा) र ३ मा गोपाल गिरीलाई उम्मेदबार बनाएको हो । गुरुङ संविधान सभा सदस्य हुनुहुन्छ । थापा र गिरी पहिलो पटक संसदीय निर्वाचनमा उत्रिनु भएको हो । थापा र गिरी नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की क्षेत्र नम्बर एकमा गनेस पौडेल, दुईमा उत्तम पौडेल र तीनमा विना गुरुङले उम्मेदवारी दिनुभएको छ । साहित्यकारको छवि बनाउनुभएका गनेस गत स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्न लिएर मेयरमा उम्मेदवार बन्नुभएको थियो भने उत्तम पत्रकारिता गर्दैगर्दा पार्टीमा लाग्नुभएको हो । गुरुङ व्यवसायी हुनुुहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्षेत्र नम्बर एकमा बाबुराम थापा, दुईमा हेमजंग गुरुङ र तीनमा अर्जुनप्रसाद खनाललाई उम्मेदवार बनाएको छ । राजनीतिक दलका उम्मेदवारहरु ¥यालीसहित उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया