काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम निश्चित गरेको छ। लामो समयदेखि चलिरहेको आन्तरिक छलफल र रस्साकस्सीपछि पार्टीले तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको हो।

पार्टी स्रोतका अनुसार कास्की–१ बाट तिलक रानाभाट, कास्की–२ बाट माधवप्रसाद बास्तोला (मधु) र कास्की–३ बाट मनोज गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ। यद्यपि, उम्मेदवारी दर्ताका लागि आवश्यक आधिकारिक पत्र उनीहरूले अझै प्राप्त गरिसकेका छैनन्।

कास्की–१ का उम्मेदवार रानाभाट पेसाले वैदेशिक रोजगार व्यवसायी हुन्। उनी कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अघिल्लो समय शेरबहादुर देउवा पक्षमा सक्रिय रहे पनि पछिल्ला दिनमा उनी सभापति गगन थापा समूहमा देखिँदै आएका छन्। यही क्षेत्रबाट टिकटको दाबी गरेका पूर्वजिल्ला सभापति कृष्ण केसी भने अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाहीमा परेपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

कास्की–२ मा कांग्रेसले गण्डकी प्रदेश प्रवक्ता बास्तोलालाई अघि सारेको छ। पोखरा–११ का स्थायी बासिन्दा उनी २०५४ देखि २०५९ सम्म तत्कालीन पोखरा नगरपालिकाको वडाध्यक्ष थिए। यसअघि यही क्षेत्रबाट पराजित भएका केन्द्रीय सदस्य देवराज चालिसेले चुनाव नलड्ने निर्णय गरेपछि बास्तोलाको नाम अघि बढेको हो।
कास्की–३ बाट मनोज गुरुङले टिकट पाएका छन्। उनी सोही क्षेत्रका क्षेत्रीय सभापति तथा नेपाल तरुण दल कास्कीका अध्यक्ष हुन् र संस्थापन (देउवा) पक्षसँग नजिक मानिन्छन्। आन्तरिक सन्तुलन कायम गर्न र गुरुङ मतदातालाई ध्यानमा राख्दै पार्टीले उनलाई उम्मेदवार बनाएको बताइन्छ।
















