देउवाको तीन दशकभन्दा लामो संसदीय यात्रामा विश्राम

देउवाको तीन दशकभन्दा लामो संसदीय यात्रामा विश्राम

Sher-Bahadur-Deuba-1763287600

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका देउवाको संसदीय यात्रामा यसपटक विराम लागेको हो।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उनी निर्वाचनको दौडमा नरहेको पुष्टि गरेका छन्। उनका अनुसार देउवाले यस निर्वाचनमा उम्मेदवारी नदिने निर्णय लिएका छन्।

स्रोतका अनुसार देउवा अन्तिम समयसम्म पनि आफ्नो गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्ने पक्षमा थिए। तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उनलाई टिकट नदिने निर्णय गर्‍यो। पार्टी नेतृत्वले देउवालाई सक्रिय राजनीतिबाट केही समय अलग भएर संरक्षक तथा अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएको बताइएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार देउवालाई पुनः उम्मेदवार बनाउँदा पार्टीभित्र अघि बढाइएको रूपान्तरण र पुस्तान्तरणको सन्देश कमजोर पर्ने ठहर गरिएको थियो। यही कारण टिकट नदिने निर्णयमा पार्टी पुगेको उनको भनाइ छ।

फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। गृहमन्त्रीबाट राष्ट्रिय राजनीतिमा उदाएका देउवा २०४८ सालयता भएका सातवटै निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए। पार्टीको पछिल्लो निर्णयसँगै उनको साढे तीन दशक लामो संसदीय राजनीतिक यात्रामा अस्थायी विश्राम लागेको छ।

प्रतिक्रिया